इरानबाट अमेरिकी सेना चाँडै फिर्ता हुने ट्रम्पको घोषणा : दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी

एजेन्सी/वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि गरिएका हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गरेका हुन्।

गत महिना इजरायलसँगको समन्वयमा सुरु भएको उक्त कारबाहीको मुख्य लक्ष्य इरानको आणविक हतियार प्राप्त गर्ने क्षमतालाई ध्वस्त पार्नु रहेको र त्यो लक्ष्य हासिल भइसकेको उनले बताए। ट्रम्पका अनुसार अहिले अमेरिकी सेनाले ‘अन्तिम काम’ बाँकी रहेको भन्दै त्यसलाई पूरा गरिरहेको छ।

Godawari sandesh
Navadurga sun

उनले इरानको आकाशमा अहिले पूर्ण रूपमा अमेरिकाको कब्जा रहेको र इरानी सैन्य शक्ति तथा पूर्वाधारहरू पूर्ण रूपमा नष्ट भइसकेको उल्लेख गरे। इरानका वरिष्ठ राजनीतिक र सैन्य नेताहरूको मृत्युपछि त्यहाँ सत्ता परिवर्तन भएको र नयाँ नेतृत्व अघिल्लो शासनको तुलनामा कम कट्टरपन्थी र बढी तर्कसंगत रहेको ट्रम्पको बुझाइ छ। उनले इरानको नौसेना र समग्र सैन्य संरचना ध्वस्त भएकाले अहिले इरानी पक्षबाट कुनै पनि प्रतिरोध नभएको दाबी गरे।

Dadeldhura hospital

इरानले वार्ताका लागि आग्रह गरिरहेको दाबी गर्दै ट्रम्पले कुनै औपचारिक सम्झौता भए पनि वा नभए पनि अमेरिकाले तोकिएको समयमै इरान छाड्ने स्पष्ट पारे। उनले इरानले फेरि कहिल्यै आणविक हतियार बनाउन नसक्ने कुरामा आफूहरू ढुक्क भएपछि मात्रै पूर्ण रूपमा बाहिरिने बताए।

इरानले अमेरिकी प्रविधि कम्पनीहरूलाई धम्की दिएको विषयमा टिप्पणी गर्दै उनले व्यङ्ग्यात्मक रूपमा इरानसँग अब सानो खेलौना बन्दुकबाहेक केही बाँकी नरहेको भन्दै धम्कीको कुनै अर्थ नभएको टिप्पणी गरे।

युद्धका कारण बढ्दो इन्धनको मूल्यका सम्बन्धमा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सैन्य अभियान अन्त्य हुनासाथ बजारमा तेलको मूल्य घट्ने आश्वासन दिए। उनले इरानसँगको युद्धमा अमेरिकाले पूर्ण विजय प्राप्त गरेको र अब त्यहाँ रहिरहनुको औचित्य नरहेको भन्दै चाँडै नै अमेरिकी सेना स्वदेश फर्कने तयारीमा रहेको दोहोर्‍याए।

इरान पूर्ण रूपमा पराजित भएको र उनीहरू सम्झौताका लागि भिख मागिरहेको ट्रम्पको दाबी छ, यद्यपि इरानले भने यसअघि यस्ता दाबीहरूको खण्डन गर्दै आएको छ।

Loading...