बैतडीमा सात उम्मेदवारको जमानत जफत

बैतडी- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका कारण उनीहरूको जमानत जफत भएको हो।

जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार एक स्वतन्त्र उम्मेदवारसहित सात जनाको जमानत जफत भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले २ हजार ६८१ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुवँरले २९९ मत प्राप्त गरेका छन्। त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालले समान ९४/९४ मत प्राप्त गरेका छन्।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

यस्तै आम जनता पार्टीका बिसनसिंह बोहराले ८२ मत, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ मत तथा स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका थिए।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा बैतडीमा ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए। तीमध्ये ६७ हजार ७३० मत सदर खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था अनुसार उनीहरूको जमानत जफत गरिएको सूचना अधिकारी दयालले जानकारी दिए।

आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका छन्। साथै नेपाली कम्युनिष्ट पार्टीका परमान्नद भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।

Loading...