


कैलाली- प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लामा चार स्थानलाई अस्थायी मतदान केन्द्र तोकिएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र–१ मा पर्ने टीकापुर नगरपालिका भवन, क्षेत्र–४ मा गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ मा धनगढी उपमहानगरपालिका भवन र धनगढीकै जिल्ला कारागार शाखामा अस्थायी मतदान केन्द्र स्थापना गरिएका हुन्।


कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार स्थायी मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र अस्थायी मतदान केन्द्रमा पुगेर समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनेछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दीलाई मतदानको सुविधा दिन यी केन्द्र स्थापना गरिएको हो। अस्थायी मतदान केन्द्रमा मतदान गर्न पाउने मतदातामध्ये ४० जना कैदीबन्दीसहित कुल चार हजार १९६ जना रहेका छन्।



कैलालीमा पाँच निर्वाचन क्षेत्र छन्। प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा मतदान गर्न पाउने स्थायी मतदाताको संख्या पाँच लाख ५१ हजार ५२ रहेको छ। यी मतदाताका लागि जिल्लाभर २३७ मतदान स्थल तोकिएका छन्।
निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि प्रशिक्षण सञ्चालन गरिरहेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा केन्द्रबाट मतपत्रसहित आवश्यक सामग्री जिल्लामा आइपुगेको जनाइएको छ। निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकार केन्द्रबाट आपूर्ति गरिने व्यवस्था गरिएको छ।
यसैबीच, वडास्तरमा परिचालित मतदाता शिक्षा स्वयंसेवकले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन्। प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र गरी कुल २०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।





