७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस: गोदावरी-१० का चार वटा सामुदायिक विद्यालयद्वारा विविध कार्यक्रम आयोजना





अत्तरिया- गोदावरी नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरूले विविध शैक्षिक तथा सामाजिक कार्यक्रम आयोजना गर्दै ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ उत्साहपूर्वक मनाएका छन् । लोकतान्त्रिक मूल्य, नागरिक जिम्मेवारी र सामाजिक सचेतनालाई विद्यार्थीहरूमा अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयहरूले संयुक्त तथा पृथक् रूपमा कार्यक्रमहरू सञ्चालन गरेका हुन् ।


नगरपालिकाको वडा नं. १० अन्तर्गतका चार वटा सामुदायिक विद्यालयले संयुक्त रूपमा हाजिरी जवाफ प्रतियोगिता तथा खमौरा स्वास्थ्य क्लिनिक परिसर सरसफाइ कार्यक्रम आयोजना गरेका थिए । प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले ज्ञान, तर्क र प्रस्तुतीकरण क्षमता देखाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको आयोजक समितिले जनाएको छ ।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) उपस्थित रहनु भएको थियो । उनले प्रजातन्त्र दिवसको ऐतिहासिक महत्व स्मरण गर्दै लोकतान्त्रिक संस्कार र अनुशासनयुक्त शिक्षा प्रणालीको आवश्यकता रहेको बताउनु भयो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

उनले विद्यालय विकासका लागि अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरकार सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै विद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गतिविधिलाई निष्पक्ष र गुणस्तरीय बनाउनुपर्ने तथा शिक्षकहरूले आफ्नो पेशाप्रति पूर्ण रूपमा जवाफदेही भएर लाग्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयकी प्रधानाध्यापक अमृता मल्लले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरू लगायत सबैमा धन्यवाद ज्ञापन गरिन् ।
यसै अवसरमा श्री जानकी विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूबीच व्यक्तित्व कला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामार्फत विद्यार्थीहरूले भाषण, अभिनय, प्रस्तुतीकरण तथा सिर्जनात्मक अभिव्यक्तिमा आफ्नो प्रतिभा देखाएका थिए ।
प्रजातन्त्र दिवसका अवसरमा सञ्चालन गरिएका यस्ता शैक्षिक, सामाजिक तथा सहकार्यात्मक गतिविधिहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य भावना तथा सामाजिक जिम्मेवारीबोध अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा आयोजित यस्ता कार्यक्रमहरूले विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ गर्दै लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।



