बाजुरा- जिल्लाका विभिन्न मुख्य सडकहरू लामो समयदेखि स्तरोन्नति तथा कालोपत्रे कार्य सम्पन्न नभएको भन्दै स्थानीय मतदाताहरूले उम्मेदवारहरूसँग गुनासो गर्न थालेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी गाउँ–बस्तीमा पुगेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूसँग स्थानीयले अधुरा सडक योजनाबारे प्रश्न उठाएका हुन्।



साँफे–मार्तडी सडक अन्तर्गत बल्दे खण्ड तथा मार्तडी–कोल्टी सडकको निर्माण कार्य वर्षौंदेखि सुरु भए पनि अझै सम्पन्न हुन सकेको छैन। स्थानीयका अनुसार मार्तडी–कोल्टी सडक कालोपत्रे कार्य थालिएको धेरै वर्ष बितिसक्दा पनि काम अधुरै रहेको छ। वर्षायाममा पहिरो र हिउँदमा हिमपातका कारण सडक बारम्बार अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।


बुढीनन्दाका स्थानीय रामबहादुर कार्कीका अनुसार विगतका उम्मेदवारहरूले स्वास्थ्य, शिक्षा, पुल, सडक र खानेपानीजस्ता पूर्वाधार विकासका योजना ल्याउने प्रतिबद्धता जनाए पनि ती योजना समयमै सम्पन्न भएका छैनन्। “मार्तडी–कोल्टी सडक कालोपत्रे हुने आशा धेरै वर्षदेखि छ, तर अझै काम सकिएको छैन,” उनले बताए।

सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेका कृषि उपज समयमै बजारसम्म पुर्याउन नसक्दा आर्थिक क्षति व्यहोर्नुपरेको छ। त्यसैगरी बुढीगङ्गा नगरपालिकाको बल्दे–आटीचौर सडक पनि करिब सात वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ।
स्थानीय बहादुर थापाले सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित निकाय र ठेकेदारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सुधार नदेखिएको बताए।
साँफे–मार्तडी, मार्तडी–कोल्टी, मार्तडी–भौनेरा, बल्दे–आटीचौर तथा डाब–खप्तड पर्यटकीय सडकसहित जिल्लाका मुख्य सडकहरू अलपत्र परेका छन्। स्थानीयले सम्बन्धित निकायसँग पटक–पटक माग राख्दै आए पनि कामले गति लिन सकेको छैन।
भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार म्याद सकिएका ठेक्कामा पुनः एक वर्षको समय थप गरी ठेकेदारलाई काम सम्पन्न गर्न निर्देशन दिइएको छ। उनका अनुसार हाल थपिएको म्यादभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य भइरहेको छ।




