थारु समुदायले नयाँ वर्षका मनाए रूपमा माघी पर्व

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँदै माघी पर्व हर्षोल्लासका साथ मनाएका छन्। सूर्य उत्तरायण प्रवेश गर्ने यस दिनदेखि तराईका विभिन्न जिल्लामा पाँच दिनसम्म स्नान, पूजा–अर्चना, दान, खानपिन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी माघी मनाउने परम्परा छ।

माघीको अवसरमा थारु समुदायका मानिसहरू बिहानै नजिकका नदी, पोखरी तथा जलाशयमा स्नान गरी पूजा–अर्चना गर्छन्। स्नानपछि घरका ज्येष्ठ सदस्यबाट आशिर्वाद लिने चलन रहेको छ। यो दिन पवित्र मानिने भएकाले धेरैले तीर्थयात्रा गर्ने तथा गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने गरेका छन्।

Navadurga sun
Godawari sandesh

साँझ घरआँगनमा ठूला मुढा बालेर ‘धुनी’ जगाइन्छ। धुनीको वरिपरि परिवारका सदस्य र पाहुनाहरू भेला भई परम्परागत खानपिन, गीत–संगीत र नाचगानसहित रमाइलो गर्ने गरिन्छ। माघीको दिनदेखि पाँच दिनसम्म आफू स्वतन्त्र भएको अनुभूति हुने विश्वासका कारण यस पर्वलाई सामाजिक तथा मानसिक स्वतन्त्रताको प्रतीकका रूपमा पनि लिने गरिन्छ।

Dadeldhura hospital

धार्मिक मान्यताअनुसार माघीका दिन श्राद्ध कर्म गर्न विशेष महत्व दिइन्छ। तिलसँग सम्बन्धित स्नान, तिलको तेल लगाउने, पितृलाई तिलयुक्त जल अर्पण गर्ने, तिल हवन, तिल दान र तिल सेवन गर्नेजस्ता कर्म गरेमा जीवनमा असफलता नआउने जनविश्वास रहेको छ। तिलको तेल प्रयोगले जाडोयाममा शरीरको तापक्रम सन्तुलनमा राख्न सहयोग गर्ने वैज्ञानिक मान्यता पनि जोडिएको छ।

माघी पर्व सामाजिक व्यवस्थापनको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यसै दिन गाउँका मुखिया, महतो, गुरुवा, पुजारी, धामी–झाँक्री, चौकीदारलगायत पदहरू आपसी सहमति वा मतदानमार्फत चयन गरिन्छ। यसले थारु समुदायभित्र सामूहिक निर्णय र लोकतान्त्रिक अभ्यासलाई झल्काउने जानकारहरू बताउँछन्।

खानपिनका हिसाबले माघीमा चामल र मासको दालबाट बनाइएको खिचडी विशेष रूपमा खाने चलन छ। यही कारण कतिपय स्थानमा माघीलाई ‘खिचडी पर्व’ पनि भनिन्छ।

यसरी माघी पर्व थारु समुदायका लागि नयाँ वर्षको सुरुवात मात्र नभई आफ्ना परम्परा, संस्कार र सामाजिक संरचनालाई पुनः स्मरण गर्ने अवसरका रूपमा मनाइँदै आएको छ।

Loading...