अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट





अत्तरिया, २० असाेज- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनिकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।


६६औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनिकरण गर्न कठिनाई हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताउनुभयो ।



विभिन्न कठिनाईका बाबजुदपनि प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उहाँले बताउनुभयो । उहाँले देशका अन्य ठाउँमा घटेका घट्नाको भन्दा सुदूरपश्चिममा सानो घट्ना हुँदा बढी चर्चा पाउने गरेको टिप्पणी गर्नुभयो ।
उहाँले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अपराध अनुसन्धानमा हुने ढिलाइले अपराधिको मनोबल बढ्दै गएर समाजमा शान्ती सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क रहनुपर्ने बताउनुभयो ।
मुख्यमनत्री भट्टले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा सुदूरपश्चिम प्रदेशक आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कर्तब्य पालनाको सिलसिलामा प्राण आहुती गर्ने अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी संगठनलाई सहयोग पु¥याउने विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।



