रजत जयन्ती अवसरमा सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च कैलाली पुग्यो

कैलाली- २५ औं सशस्त्र प्रहरी दिवस (रजत जयन्ती)को अवसरमा सशस्त्र प्रहरी बल नेपालले सुरु गरेको पूर्व–पश्चिम झण्डा मार्च कैलाली पुगेको छ। पुस २० गते कञ्चनपुरको गड्डाचौकी नाकाबाट सुरु गरिएको झण्डा मार्च आज कैलाली प्रवेश गरेको हो।

Ganyapdhura gau

कञ्चनपुरबाट आएको सशस्त्र प्रहरी बलको टोलीले कैलालीस्थित सशस्त्र प्रहरी बललाई झण्डा औपचारिक रूपमा हस्तान्तरण गरेको छ। कैलाली–कञ्चनपुर सीमावर्ती क्षेत्र डोजर बजारमा आयोजित झण्डा हस्तान्तरण कार्यक्रममा सुरक्षा निकायका अधिकारी, स्थानीय प्रशासन तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Navadurga sun

सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जितका अनुसार सशस्त्र प्रहरीले आफ्नो रजत जयन्तीको अवसरमा पूर्वको झापा जिल्लाको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट एकैसाथ झण्डा मार्च सुरु गरेको हो। दुबै दिशाबाट सुरु गरिएको झण्डा मार्च १८ दिनको अवधिमा माघ ७ गते पर्सा जिल्लामा विशेष कार्यक्रमसहित समापन गरिने उनले जानकारी दिए।

Dadhaldhura pur

झण्डा मार्चको मुख्य उद्देश्य समुदायस्तरमा सशस्त्र प्रहरी बलको भूमिका, कर्तव्य, सीमा सुरक्षा, शान्ति व्यवस्था तथा विपद् व्यवस्थापनमा यसको योगदानबारे जनचेतना फैलाउनु रहेको रञ्जितले बताए। झण्डा मार्च टोलीले एक जिल्लाबाट अर्को जिल्लासम्म पुगेर सम्बन्धित जिल्लाको सशस्त्र प्रहरी बललाई झण्डा हस्तान्तरण गर्दै अघि बढिरहेको छ।

सोही कार्यक्रमअनुसार आज कञ्चनपुरको टोलीले कैलालीको टोलीलाई झण्डा हस्तान्तरण गरेको र कैलालीको टोलीले भोलि बर्दिया जिल्लाको टोलीलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए।

झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सशस्त्र प्रहरी बलको रजत जयन्तीको अवसरमा शुभकामना व्यक्त गरे। उनले सीमा सुरक्षा, शान्ति व्यवस्था तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै यसको भूमिका सधैं स्मरणीय रहने बताए।

झण्डा मार्चको क्रममा सशस्त्र प्रहरी बलको टोलीले सीमावर्ती क्षेत्रहरूमा मार्चपाससमेत गर्ने कार्यक्रम रहेको छ। यस कार्यक्रमले सीमा क्षेत्रमा सुरक्षा सचेतना बढाउनुका साथै सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...