थारु समुदायका भलमन्सा–चिराकीलाई स्थानीय तहको सहयोग: साइकल र स्मार्टफोन वितरण

अत्तरिया- थारु समुदायमा गाउँघरमा आईपर्ने साना तिना समस्या समाधानका लागि होस या सामूहिक कार्यका लागि बडघर (भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समय स्थानीय सरकारले भलमन्साचिराकीको भूमिकालाई सहज र प्रभावकारी बनाउन विभिन्न तालिम तथा सहयोगी सामग्री प्रदान गर्न थालेपछि उनीहरुलाइ अझै सहज भएको छ ।

स्थानीय सरकारको सहयोगले कार्यव्यवस्थापनमा सहजता भएको अनुभव चिराकी तथा भलमन्साको छ । लम्कीचुहा नगरपालिकाले हालै चिराकीका लागि ५० वटा साइकल र भलमन्साका लागि ४८ वटा स्मार्ट फोन सहयोग गर्यो । लम्कीचुहाका भलभन्साहरुले स्मार्ट मोबाइल फोन सहयोग पाएपछि खुशी हुँदै खबर आदान प्रदानमा सहज हुने बताए ।

Navadurga sun
Godawari sandesh

फोन सम्पर्कका लागि सामान्य मोबाइल भए पनि इन्टरनेटबाट चल्ने नभएको अवस्थामा स्मार्ट फोन पाएपछि नगरभरीका भलमन्साहरु समुह कलमा जोडिएर आफ्नो गाउँ ठाउँको विकासमा छलफल गर्न सजिलो हुने भलमन्साहरुले सुनाए ।

गाउँ समाजमा आफ्नो रितितिथि बसाल्ने, सामाजिक र विकास निर्माणको कार्यका लागि भलमन्साको भूमिका हुन्छ । भलमन्साले कुनै कामकाजका लागि खबर पुर्याउन चिराकी राखेपनि हिँडेरै गाउँभरी सूचना पुर्याउनु पर्ने हुन्छ । दुबैका माग बमोजिम कार्य भूमिकालाई सहज, छिटो छरितो बनाउन मोबाइल र साइकल वितरण गरिएको नगरप्रमुख शुसिला शाहीले बताइन ।

Dadeldhura hospital

उनले सात लाख २५ हजार रुपियाँ बराबरको ४८ वटा मोबाइल र तीन लाख ६० हजार रुपियाँ बराबरको ५० वटा साइकल कार्यपालिकाबाट पास गरेर दिने निर्णय बमोजिम सहयोग प्रदान गरिएको जानकारी दिए ।

लम्कीचुहाले जस्तै घोडाघोडी नगरपालिकाले समेत भलमन्सा र चिराकीलाई साइकल सहयोग गर्नुका साथै मेलमिलापसम्बन्धी तालिमसमेत दिएको छ । आर्थिक वर्ष २०८१\०८२ मा विभिन्न वडाले आवश्यकताका आधारमा साइकल सहयोग गरेको जनाइएको छ । घोडाघोडी नगरपालिका १ बेलार गाउँका चिराकी गंगाराम चौधरीले वडाबाट साइकल पाएपछि सूचना पुर्याउन सजिलो भएको बताए।

उनले खुशी हुदै भने, “पहिला त हिडेर गाउँभरी डुल्नुपर्यो । साईकल पाएपछि सजिलो भएको छ । साइकल चलाएर नै घरघर खबर पुर्याउन जान्छु । आज बिहानपनि गाई गोरुलाई खोरेतको सुई लगाउनका लागि सबैलाई खबर गरेर आए । डेढसय घरमा खबर पुर्याउनुपर्छ ।”

साइकल पाएपछि गंगाराम जस्तै अन्य चिराकीलाई पनि सजिलो भएको छ । घोडाघोडी नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले स्थानीय तहले भलमन्साहरुका लागि मेलमिलापसम्बन्धी तालिम दिएको बताए । घोडाघोडी नगरपालिकामा ७६ वटा थारु गाउँमा ७६ जना भलमन्सा र चिराकीले परम्परागत बड्घर प्रथालाई निरन्तरता दिइरहेका छन् ।

घोडाघोडी नगरपालिका विभिन्न वडाले चारलाख ५० हजार रुपियाँ बराबरको साइकल चिराकी र भलमन्सालाई सहयोग गरेको घोडाघोडी नगरपालिका लेखा शाखाले जनाएको छ । बर्दगोरिया, गौरिगंगा, जोशीपुर लगायत स्थानीय तहले पनि चिराकी र भलमन्साको भूमिकालाई सहज बनाउन तालिमलगायतका सहयोग गरेको जनाइएको छ ।

Loading...