गेटा आँखा अस्पताल जाने मार्ग जीर्ण, बिरामी र स्थानीय दुवै मर्कामा

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गेटामा अवस्थित सुदूरपश्चिमको प्रमुख आँखा अस्पतालले नेपाल मात्र नभई भारतका बिरामी बीच पनि उच्च विश्वास कायम गर्न सफल भएको छ ।

उत्कृष्ट सेवा र प्रभावकारी उपचारका कारण अस्पतालमा दैनिक सयौँ बिरामी आउने गरेका छन् । तर अस्पतालसम्म पुग्ने मुख्य मार्ग भने वर्षौँदेखि जीर्ण अवस्थामा रहेकाले बिरामी र स्थानीय दुवै समस्या भोग्न बाध्य छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

हाइवेको छेउमै रहेको यो मार्ग पानी पिच तथा कालोपत्रे नभई ग्राभिलिङ मात्रै गरिएको छ । यस्ताे कच्ची सडककाे कारण धुलाे उड्ने, हिलो जम्ने र दुर्घटना हुने जोखिम उच्च भएको बिरामीहरूको गुनासो छ । आँखासम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीलाई धुलो–धुलीले अझै असहज अवस्था सिर्जना गर्ने भएकोले उनीहरूलाई अस्पताल आउन–जान निकै कठिनाइ भइरहेको छ ।

गोदावरी नगपालिका–५ भित्र पर्ने यो सडक खण्ड सुधारको आवश्यकता वर्षौँदेखि उठिरहे पनि संघ, प्रदेश र स्थानीय सरकार कसैले पनि ठोस पहल नगरेको स्थानीय बासिन्दाले बताएका छन् । सरकारी निकायले व्यवस्थापन गर्नुपर्ने आँखा अस्पताल मार्ग बेवास्ता गर्दा महत्वपूर्ण स्वास्थ्य सेवामा पहुँच नै प्रभावित भएको स्थानीयको आरोप छ ।

सडकको अवस्था दिनहुँ बिग्रिन थालेपछि तत्काल निरीक्षण गरी स्तरोन्नति तथा कालोपत्रे गर्नुपर्ने आवाज चर्किँदो छ । यस मार्गबाट अस्पतालका बिरामी मात्र होइन, गेटा आसपासका स्थानीय बासिन्दा पनि दैनिक रुपमा आवतजावत गर्छन् । सडक सुधार भए गाउँका बासिन्दादेखि अस्पतालमा आउने बिरामी सबैलाई राहत पुग्ने स्थानीयले बताएका छन् ।

सम्बन्धित निकायले अस्पताल रोडलाई प्राथमिकतामा राख्दै शीघ्र बजेट विनियोजन गरी कालोपत्रे कार्य अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ ।

Loading...