कांग्रेस : केन्द्रमा सत्तापक्ष, सुदूरपश्चिममा प्रतिपक्ष





धनगढी, १२ असाेज- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दलमै यथावत् रहेको छ । केन्द्रमा कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बनेपनि सुदूरपश्चिममा भने प्रमुख प्रतिपक्ष दल बनेको हो ।


प्रदेश सभाको सोमबारदेखि बसेको बैठकमा सोहीअनुसार सिट व्यवस्थापन गरिएको छ । कांग्रेस प्रदेश सरकार गठन हुँदादेखि नै प्रमुख प्रतिपक्ष दलको रूपमा रहँदै आएको छ।



नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एमाले) एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार हुँदा पनि प्रदेशमा कांग्रेस प्रमुख प्रतिपक्षी दलकै रूपमा थियो भने प्रतिपक्षी दलमा जनता समाजवादी पार्टी थियो ।
अहिले माओवादी, एमाले र जसपा फुटेर ६ दल बन्दा पनि नेपाली कांग्रेस प्रमुख प्रतिपक्षकै भूमिकामा छ । अहिले अन्य प्रतिपक्षी दल नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् ।
सत्तापक्षमा भने नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको ९एकीकृत समाजवादी० पार्टी रहेको छ । पार्टी विभाजनपछि प्रमुख प्रतिपक्ष दलसहित प्रमुख प्रतिपक्षी दल, मुख्यमन्त्री, एकीकृत समाजवादी संसदीय दलका नेता र उपसभामुखको सिट अगाडिको लाइनमा व्यवस्थापन गरिएको छ ।



