अत्तरिया- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सार्ने चर्चाले तीव्रता पाउँदै जाँदा गोदावरी नगरमा सर्वदलीय दबाब आन्दोलन चर्किएको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टको पहलमा बुधबार आयोजित सर्वदलीय बैठकमा सहभागी सबै दलका नेताहरूले राजधानी गोदावरीमै स्थायी रूपमा निर्माण गर्नुपर्नेमा एकमत जनाएका हुन् ।
सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, खिमा देवी बिष्ट, जानकी कुँवर, पूर्वमन्त्री कृष्णराज सुवेदी, एमालेका गोकर्ण भट्ट र खम्ब बुढा, कांग्रेसका वसन्त रोकाया र बीर बहादुर चोखाल, माओवादी केन्द्रका धर्म कुँवर र मेघराज भट्ट, जनमोर्चाका नन्दराज भट्ट लगायतले राजधानी सार्ने प्रयासप्रति एक स्वरमा असन्तुष्टि जनाए । उनीहरूले राजधानी जोगाउन अब दबाब आन्दोलनमा उत्रनुपर्ने धारणा व्यक्त गरेका छन् ।

वक्ताहरूले एउटाले अर्कोलाई दोष दिनु भन्दा घोषणा भइसकेको राजधानी गोदावरीमै किन कार्यान्वयन हुन सकेन भन्ने यथार्थ बुझ्न र समाधानमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा पूर्व सांसद कृष्णराज सुवेदी, गौरीगंगा नगरपालिकाका उप मेयर भोज बहादुर बम, चुरे गाउँपालिकाकी उपाध्यक्ष धना थापा, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, जनमोर्चाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
बैठकमा बोल्ने बक्ताहरुले राजधानी सार्ने कुराप्रति एक स्वरमा असन्तुष्टि व्यक्त गर्दै २०७५ साल असोज १२ गते प्रदेश सभाबाट दुई–तिहाइ बहुमतले पारित भई गोदावरी–२ र ४ मा स्थायी राजधानी तोकिएको निर्णय संविधानसम्मत र जनभावना अनुरूप रहेको जनाए ।
यो पनि पढ्नुहोस्ः सुदूरपश्चिमको स्थायी राजधानीको निर्णय विरुद्धको मद्दाको पेसी स्थगित
