

धनगढी- कैलाली र कञ्चनपुरबाट प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१, क्याम्पसचोक निवासी ३१ वर्षीय विवेक बराललाई प्रहरीले १ वर्ष कैद सजाय तोकिएको मुद्दामा पक्राउ गरेको छ ।


४ मंसिर २०७८ मा जिल्ला अदालत कञ्चनपुरले लागू औषध (खैरो हेरोइन) मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैदको फैसला सुनाएको थियो । बराललाई उनको घरबाटै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।



यस्तै, वेदकोट नगरपालिका–७ निवासी ३७ वर्षीय मंगरु डगौरालाई पनि पक्राउ गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले २०७२ भदौ ८ गते नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद र ९ हजार ९ सय ५५ रुपैयाँ जरिवाना तोकेको थियो ।
फरार रहेका डगौरालाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको छ । यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–५ निवासी ३१ वर्षीय दिनेश धामीलाई १६ वर्ष कैद तोकिएको मुद्दामा पक्राउ गरिएको छ । २०७२ चैत २१ गते जिल्ला अदालत कञ्चनपुरले आगोलगाई र गौवध मुद्दामा दोषी ठहर गर्दै उनलाई सजाय सुनाएको थियो ।
नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरबाट खटिएको टोलीले उनलाई पनि असार ९ गते घरमै पुगेर पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार अभियुक्तलाई कानूनी दायरामा ल्याउन यस प्रकारका पक्राउ अभियानलाई अझ सशक्त बनाइनेछ ।





