सुदूरपश्चिमको स्थायी राजधानी घोषित तेघरीमा भौतिक पूर्वाधार निर्माण गर्न माग





अत्तरिया, २४ भदाै– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाउन राजनीतिक दलहरुले माग गरेका छन् । राजधानी घोषणा गरेको ३ पुग्न लाग्दा पनि प्रदेश सरकारले यस्तो माग गरिएको हो ।


नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गर्दै बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाएका हुन् । १२ असोज २०७५ मा गोदावरी नगरपालिका २ र ४ को तेघरी वन क्षेत्रमा प्रदेशको राजधानी घोषणा गरिएको थियो ।



राजधानी घोषणाका लागि गठित समितिको प्रस्ताव प्रदेशसभाबाट तत्कालीन नेकपा नेतृत्वको सरकारले पारित गरेको थियो । तर राजधानी घोषणा भएको तीन वर्षसम्म प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न नसकेको हो । एकीकृत समाजवादीका जिल्ला सदस्य खम्म बुढा र माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर संयोजक धर्मसिह कुँवरले बुझाएको ज्ञापनपत्रमा अत्तरिया बसपार्कलाई प्रदेश स्तरीय बसपार्क बनाएर स्तरोन्नति तथा कालोपत्रेको काम अघि बढाउन पनि माग गरिएको छ ।
गोदावरी विकास बोर्ड गठन गरेर धार्मिक महत्व बोकेको गोदावरी क्षेत्रको विकास गर्न र गोदावरी नगरपालिका–६ को बिजौरादेखि बडैया जाने बाटो एसियाली विकास बैंकको लगानीमा भइरहेको सडकलाई स्थानीयको भावनाअनुसार निर्माण गर्न समेत माग उनीहरुले गरेका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताए । डीपीआर निर्माणको काम भने चाँडै थालिने उनले बताए ।
प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समिति गठन गरिसकेको छ । तर जग्गा प्राप्ति नभएकै कारण काम अगाडि बढाउन नसकिएको पूर्वाधार विकास समितिले बताउँदै आएको छ ।



