गोदावरी नगरपालिकामा १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बिहीबार विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ ।

श्रमिकको सम्मानमा आयोजना गरिएको उक्त कार्यक्रममा नगरपालिकाको रोजगारी सेवा केन्द्रको प्रमुख भूमिका रहेको थियो । कार्यक्रम निड्स नेपाल र मुक्त कमैया महिला विकास मञ्चको सहकार्यमा सम्पन्न भएको हो ।

Navadurga sun

श्रमिक दिवस विशेष समारोह गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन् । कार्यक्रममा नगरका विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय निकायका कर्मचारी, सामाजिक अभियन्ता, श्रमिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख उद्देश्य श्रमिकहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु रहेको आयोजकहरूले जनाएका छन् । कार्यक्रममा ‘१०० दिने रोजगार कार्यक्रम’ मा सक्रिय रूपमा सहभागी भएका श्रमिकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिनुका साथै स्थानीय रोजगारदाता व्यवसायीहरूलाई समेत योगदानको मूल्याङ्कन गर्दै कदर गरिएको थियो ।

कार्यक्रम अघि अत्तरियाको मुख्य बजार क्षेत्रबाट श्रमिकहरूको सहभागितामा सचेतनामूलक र्‍याली निकालिएको थियो। प्लेकार्ड, नाराबाजी र श्रमको सम्मानमा गीत–सङ्गीतसहितको र्‍यालीले नगरवासीको ध्यान आकर्षित गरेको थियो।

श्रमिकहरूको सामाजिक सुरक्षा, अधिकार, न्यायपूर्ण पारिश्रमिक र दिगो रोजगारका विषयमा कार्यक्रमका वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

उपप्रमुख रोकायाले श्रमिकको अधिकार सुनिश्चित गर्न नगरपालिकाले निरन्तर पहल गरिरहेकाले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने बताइन्.

कार्यक्रमले श्रमिकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै समाजमा श्रमको सम्मान बारे सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको प्रतिक्रिया थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...