हरिश चन्द/ डडेल्धुरा, ८ बैशाख- बजेट अभावका कारण जिल्लाका आधा दर्जन सडकको निर्माण कार्य ठप्प भएको छ । बहुवर्षे सडक अन्तर्गत यहाँका ६ वटा मुख्य सडकको निर्माण बजेट अभावमा ठप्प भएका हुन् ।
जिल्लाको पोखरा–बेलापुर–घटाल चिरर्किटे सलौन जोबुढा गाईबाँधे लिप्ना –आईत कृतिपुर भलिया–बुडर जोरायल सडक निर्माण बिचमै रोकिने भएको हो । बहुवर्षीय ठेक्का मार्फत निर्माणाधीन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि काम बीचमै रोकिने सम्भावना बढेर गएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका प्रदेश गौरवका सडक आयोजना निर्माणको महत्वका ६ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्न पूर्वाधार विकास कार्यालय ठेक्का लगाएको थियो । आ.व. ०८१/८२ मा सडक कालोपत्रे गर्न ३५ करोड रुपैयाँ आवश्यक रहेको कार्यालयले जनाएको छ ।


प्रदेश गौरवका सडक अन्तरगत पोखरा बेलापुर १८ किमि १० करोड –घटाल चिर्किटे सलौन जोबुढा ४५ कि.मी १० करोड– गाईबाधे लिप्ना १२ कि.मी. ६ करोड आईत कृर्तिपुर भलिया ७ कि.मी ४ करोड र बुडर जोरायल १७ कि.मी ५ करोड रुपयाँ आवश्यक परेको पूर्वाधारै विकास कार्यालयका कार्यालय प्रमुख नवराज रावलले जानकारी दिनुभयो ।
बजेट नहुँदा कामको भुक्तानी दिनसमेत समस्या भएको उहाँले बताउनु भयो । ‘तीन वर्षको ठेक्का सम्झौता भएको छ, पहिलो चरणको भुक्तानी दियौँ, अब बजेट नै छैन कसरी काम अघि बढाउने ?’ उहाँले प्रश्न गरे ।
पोखरा बेलापुर अन्तरगत ठेकेदार भिम सिह ढाँट ले अहिले सम्म ५ करोडभन्दा बढीको काम गरिसके पनि भुक्तानी नपाएको गुनासो गर्नु भयो । ‘गरेको कामको समेत पैसा पाएको छैन, कार्यालयले रकम छैन भन्छ, अब कसरी काम गर्ने ?’ उनले भने । ढाँट मात्र नभई अन्य निर्माण कम्पनीले रकम नआए काम रोकिने बताएका छन् ।
पूर्वाधार विकास कार्यालयले थप बजेट गरिदिन माग गरेपनि अर्थको ढिलाइका कारण रकम नआएको प्रमुख रावलले जानकारी दिनुभयो । ‘सबै फाईल अर्थमा पुगाएको छु ,आश्वासन दिएको छ तर कार्यान्वयन कहिले गर्छ थाहा छैन,’ उहाँले भन्न भयो । ‘‘व्यवसायीलाई भुक्तानी दिने बजेट कार्यालयसँग छैन । बहु वर्षीय ठेक्का लगाएका योजनाहरूमा चालु आर्थिक वर्षमा प्रदेश सरकारले न्यून बजेट विनियोजन गरेकाले यो समस्या उत्पन्न भएको हो ।
काम गरे अनुसारको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीलाई योजनाको थप काम अघि बढाउन कार्यालयले भन्न सक्ने अवस्था छैन । बजेट नभएपछि योजना प्रभावित हुने भएको छ । समयमै थप बजेट आएन भने निर्माण कार्य रोकिने चिन्ता भईरहेको प्रमुखको भनाई छ ।

