‘पृथ्वीपथलाई प्रतिबद्धता’ भन्दै अत्तरिया–धनगढी मोटरसाइकल र्‍याली हुने

धनगढी- ‘पृथ्वीपथलाई प्रतिबद्धता’ भन्दै अत्तरिया–धनगढी मोटरसाइकल र्याली हुने भएको छ । वैशाख ४ गते बिहीवार अत्तरिया चौराहमा रहेको राजा महेन्द्रको सालिकदेखि धनगढी चौराहमा रहेको पृथ्वीनारायण शाहको सालिक सम्म मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो ।

धनगढीमा शान्तिपूर्ण बृहत् मोटरसाइकल र्‍याली तथा कोणसभा आयोजना गरिने छ। जनस्तरबाट कार्यक्रम गर्न लागेको दाबी गरिएको छ । कार्यक्रममा राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक नेपाल ऋषि जगमान गुरुङ्गको सहभागिता रहने बताइएको छ ।

कोण सभामा राष्ट्रिय शक्ति नेपालका केसर बहादुर बिस्ट, संविधान सभा सदस्य गंगा चौधरी लगायतको पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘नागरिक आन्दोलन सङ्घर्ष समिति’ ले कार्यक्रमलाई राज्य व्यवस्थाको विरुद्ध ‘शान्तिपूर्ण अवज्ञा’ को रूपमा आयोजना गर्ने बताएको छ ।

नयाँ वर्षको अवसरमा ज्ञानेन्द्र शाहले सन्देश जारी गरेसँगै राष्ट्र पृथ्वीपथमा अग्रसर हुनुपर्ने धारण सहित अत्तरियादेखि धनगढीसम्म र्‍यालीको आयोजना गरिएको प्रतीक जोशीले बताए । पृथ्वीनारायण शाहको एकीकरणको अभियानलाई स्मरण गर्दै जोशीले भने, ‘बडामहाराजले पनि बिसे नगर्चीबाट प्रेरणा र सहयोग लिएर थालनी गर्नु भएको नेपाल एकीकरण अभियानबाट हामीले पनि प्रेरणा लिएर अब हतार नगरी सम्पूर्ण नेपालीले अघि बढ्नु पर्ने बेला भएको छ ।’

कैलालीको अत्तरियामा रहेको राजा महेन्द्रको सालिकबाट बिहिवार दिउँसो साढे २ बजेदेखि र्‍याली सुरु हुने आयोजकले बताएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक हुँदै धनगढी नगर परिक्रमा गरेर चौराह (पृथ्वीनारायण चोक) मा कोणसभाको आयोजना गरिने छ ।

Loading...