गोदावरी आर्यघाटमा तीन करोडको लगानीमा आधुनिक पूर्वाधार बन्दै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न .४ मा रहेको ऐतिहासिक गोदावरी आर्यघाटको स्तरोन्नति र समुचित व्यवस्थापन कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

स्थानीय तहको प्राथमिकतामा परेको आर्यघाट क्षेत्रको पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य भइरहेको छ ।

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टका अनुसार उक्त आयोजना अन्तर्गत ७ ओटा दाहसंस्कार स्थल, नुहाउने धाराहरू, पानी संचित गर्ने ट्यांकी, नदी नियन्त्रणका लागि स्पर (टबन्धन), आरसीसी ढलान सहितको सडक पेटी, र पार्किङ व्यवस्थापन जस्ता संरचनाहरू निर्माण भइरहेको छ । सुक्खा मौसममा देखिने पानी अभावको समस्या समाधानका लागि पानी पोखरी (Water Storage Tank) निर्माण कार्य पनि तीव्र रूपमा अगाडि बढाइएको छ ।

निर्माणको जिम्मा जगदम्बा भवानी जेभी नामक निर्माण कम्पनीले लिएको हो । नगरप्रमुख भट्टले सम्पूर्ण कार्यहरू निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

परियोजनाको लागि नेपाल सरकार पर्यटन मन्त्रालयबाट २ करोड रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयबाट १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुल ३ करोड रुपैयाँको लागतमा सम्पन्न हुन गइरहेको यस आयोजनाले आर्यघाटलाई व्यवस्थित मात्र होइन, वातावरणमैत्री र सभ्य बनाउने अपेक्षा गरिएको छ ।

स्थानीय बासिन्दाहरूले आर्यघाट क्षेत्रको सुधारसँगै धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षलाई समेत सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् ।

Loading...