क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र आयल निगमको भणडारण केन्द्र गोदावरी- ८ स्याउलेमा बनाउन स्थानीयको माग
अत्तरिया- कैलालीको गोदावरी -८ का स्थानीयले स्याउलेमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र स्थापना को माग गरेका छन् । मंगलबार धनगढीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटर उनीहरूले यस्तो माग गरेका हुन् ।
स्थानीय सुर्योदयो सामुदायिक बनमा १ सय १० हेक्टर जग्गा २०७६ सालमा नै उक्त प्रयोजनको लागि छुट्याइएको पूर्व वडा अध्यक्ष नरेश अधिकारीले बताए । उनले सरकारकै अध्ययन अनुसार उक्त ठाउँमा जग्गा स्थानीयले दिएपनि काम अगाडि नबढेको गुनासो गरे । अर्का स्थानीय करन बोगटीले बाताबरणिय प्रभाव अध्ययनको काम समेत भैसकेको बताए ।
उनले अर्को शिबशक्ती सामुदायिक बनमा ९० दिने क्षमता को आयल भण्डार डिपोको कार्य पनि अगाडि बढाउनु पर्ने मन्त्री भण्डारी समक्ष माग गरिएको बताए ।
‘अहिले धनगढीमा रहेको भण्डारण डिपो निकै जोखिममा छ । त्यहाँ धेरै दिनको लागि स्टक पनि हुने क्षमता छैन । हामीले उहिले नै आयल निगमको लागि जग्गा दिन खोजेका हौं ।
सरकारका मन्त्रीहरू आएर अध्ययन अवलोकन पनि गरिसकेका छन् । अब यो कार्य छिटो अगाडि बढाउनु पर्यो ,’ बोगटीले भने । जवाफमा मन्त्री भण्डारीले आफूले यो बिषयमा अध्ययन गर्ने बोगटीको भनाई रहेको छ ।