

धनगढी- कैलाली कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदी पुगेका छन् । १५० जना क्षमताको कारागारभित्र अहिले झण्डै ६ सयको संख्यामा कैदीबन्दी छन् ।


अहिले कारागारभित्र ५ सय ५७ जना कैदीबन्दी छन् । साढे ७ सयको संख्यामा कैदीबन्दी भएपछि १ सय ५० जना कैदीबन्दीलाई नयाँ कारागार कोहलपुरमा राखिएको छ । १९९७ सालमा बनेको जिल्ला कारागार कैलाली जीर्ण अवस्थामा छ ।


पछिल्लो समय अपराधका घटना बढ्दै गएपछि जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिन पुगेको हो । विशेष गरी लागूऔषध, जबरजस्ती करणी, हत्या, चोरी, कुटपिट, बैंकिङ कसुर लगायत अपराधमा दोषी ठहर भएकाहरू कैदीबन्दी जीवन बिताइरहेको जिल्ला कारागार कैलालीका जेलर दिपक पाण्डेले बताए । १५० जना क्षमताको जीर्ण कारागार भित्र अहिले ५ सय ५७ कैदीबन्दी हुलिएका छन् ।

जिल्ला कारागारमा ५५७ जम्मा कैदीहरू रहेकोमा १७७ जना लागूऔषध सँग सम्बन्धित मुद्दाका छन् । कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५३९ मुद्दा लागुऔषध सँग सम्बन्धीका दर्ता भएका थिए । जिल्ला अदालतले ४३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ। १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ।
कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १४० कैदी हाल जिल्ला कारागारमा छन् । थप ३७ जना थुनुवा रहेका छन् । उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । कारागारमा रहेका १७७ जनामा ३७ जनाको अन्तिम सुनुवाइ भएको छैन । १४० जनाको मात्र अन्तिम सुनुवाइ भएको छ ।
१४० जना लागुऔषध मुद्दामा दोसी ठहर भएर कारागारमा कैद जीवन बिताइरहेका छन् । कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक छन् । कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको छ । कैलाली कारागारमा कैदीको संख्या धेरै भएपछि उनीहरूलाई कोहलपुरको नयाँ जेलमा पठाइएको हो ।
कोहलपुर कारागार स्थानान्तरण गरिएका कैदीमा अधिकाँस लागुऔषध मुद्दाका छन् । कैलाली जिल्ला अदालतमा दर्ता भएका लागुऔषधका मुद्दामा हिरोइनका ५१०, गाँजा–चरेसका २४ र अन्य पाँच रहेका छन् । जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका ५३९ मुद्दामा ४३१ मुद्दा फर्छौट भएका छन् । १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ ।