बस खोजी गर्ने क्रममा हराएको १९ किलोको चुम्बक फेला

चितवन- त्रिशूली नदीमा बस खोजी गर्ने क्रममा हराएको भारतीय उद्धार टोलीको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको छ ।

त्रिशूलीको सिमलतालमा हराइरहेका बस खोज्न प्रयोग गरिएका दुई चुम्बकमध्ये १९ केजीको एउटा चुम्बक हराएको थियो। उक्त चुम्बक आज नारायणी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Dadeldhura hospital

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर-२९ स्थित नारायणघाट-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

ती दुई बसमा ६५ यात्रु रहेकामा तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए। बससँगै हराइरहेका ६२ जनामध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ । अन्यको अवस्था अज्ञात छ ।

हराइरहेका ती बसहरूको खोजीमा सघाउन आएको भारतीय प्राविधिक टोली सोनार क्यामेरा, ठूला चुम्बकलगायत उपकरणबाट खोज्दा पनि केही पत्तो नलागेपछि हिजो फर्किसकेको छ । नेपाली सुरक्षाकर्मीले भने खोजतलास जारी राखेका छन् ।

Loading...