धनगढी- सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
तर दुई दिन पछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् । मियाँले संविधानकाे धारा १६८ काे (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न वैशाख ६ गते साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए ।