अत्तरिया- सुदूरपश्चिम प्रदेशकी पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी (रत्गैंया) ले राज्यको हरेक निकायमा थारु रत्गैंया समुदायको उपस्थिति हुनु पर्ने बताएकी छन् । सोमबार कैलालीको धनगढी उपमहानगरपालिका ६ जालीमा थारु रत्गैंया समाजले आयोजना गरेको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यस्तो बताएकी हुन् ।
कार्यक्रममा थारु रत्गैंयाको हरेक क्षेत्रमा पहिचान हुन जरुरी रहेको र यसका लागि यूवा पुस्ता जागरुक भएर लाग्नु पर्ने बेला आइसकेको बताइन् । रत्गैंया समाजले राजनीतिक क्षेत्रमा अगाडि बढ्नु पर्ने बताउँदै आगामी निर्वाचनमा हरेक तहमा उपस्थिति बढाउने गरि लाग्नु पर्ने औल्याइन् । देश परिवर्तन र विकासका लागि रत्गैंया परिवारले अभियान नै सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।
त्यस्तै रत्गैयाको पहिचान, आपसी सद्भाव, भाइबन्दुहरुको खोजी गर्ने सम्मेलनको उद्देश्य रहेको उनको भनाइ छ । सम्मेलनमा विभिन्न जिल्लाका रत्गैंया परिवारका जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने थारु राष्ट्रिय कलाकारहरुले बेजोड प्रस्तुति राखेका थिए ।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेतमा गरि २ हजार ६ सय ९४ रत्गैंया घरधुरी रहेको तथा १३ हजार ६ सय ८३ जनसंख्या रहेको समाजले जनाएको छ । समाजका केन्द्रीय अध्यक्ष पृथ्वी रत्गैयाको सभापतित्वमा सम्मेलन सम्पन्न भएको थियो । कार्यक्रममा ६ जिल्लाका करिब ७ हजारको संख्यामा रत्गैंया समुदायको उपस्थिति रहेको आयोजकले जनाएको छ ।