कैलाली र कञ्चनपुरमा भन्सार छली नियन्त्रणमा प्रहरी सक्रिय

धनगढी- कैलाली र कञ्चनपुरमा प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएपछि अघिल्ला वर्षहरुमा भन्दा भन्सार छलेर ल्याइएका सामान बरामद दोब्बरले बढेको छ ।

भारतसँग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा गत साउनदेखि माघ मसान्तसम्म नेपाल प्रहरीले चार करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुई करोड १९ लाख ५१ हजार रुपैयाँको सामान बरामद गरेको प्रहरीले यो वर्ष भने ७ महिनामै करीब दोब्बर सामान बरामद गरेको हो ।

Navadurga sun

कञ्चनपुरमा पनि तस्करीका सामान बरामद बढेको छ । गत साउनदेखि माघ मसान्तसम्म तीन करोड ५० लाख रुपैयाँको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । गत आर्थिक वर्ष २०७९/८० को १२ महिनामा प्रहरीले दुई करोड २४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो ।

१४ महिनाअघि प्रहरी उपरीक्षक (एसपी) देबेन्द्रबहादुर पाल कैलाली र १२ महिनाअघि प्रहरी उपरीक्षक (एसपी) कमल थापा प्रमुख भएर आएका थिए । प्रहरी प्रधान कार्यालयले मंगलबार दुवै एसपीको सरुवा गरिसकेको छ ।

कैलालीका प्रमुख प्रहरी पालले सीमा नाकामा हुने चोरी, निकासीलाई नियन्त्रणमा प्रगति भएको बताए । ‘सीमा क्षेत्रमा हुने चोरी, निकासीलाई शून्यमा झार्न चेकजाँचमा र लागुऔषध नियन्त्रणमा कडाइ गरेका थियौँ । त्यसैको परिणाम विगतभन्दा बढि राजश्व संकलन गर्न सफल भयौं’, उनले भने ।

कञ्चनपुरका प्रमुख प्रहरी थापा सीमा क्षेत्रमा गरिएको कडाइकै कारण अवैध सामान बरामद दोब्बरले बढेको बताए । ‘अवैध सामान भण्डार गरिएका गोदाममै छापा हानेर सामान बरामद गरेका थियौ’, थापाले अनलाइनखबरसँग भने, ‘आन्तरिक राजश्व, भन्सार लगायतको समन्वयमा पनि धेरै काम गरेका छौं ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...