गोदावरीमा नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका १९ गाडी धनीलाई जरिवाना

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा रहेको खोला नदीबाट नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरेर छाड्ने निणर्य भएको छ ।

आइतबार जिल्लास्तरीय अनुगमन समितिको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट १९ वटा ढुवानीका साधन नियन्त्रणका बिषयमा भएको छलफलमा नदीजन्य पदार्थ अबैध रुपमा उत्खननमा प्रयोग भएका गाडी जरिबाना तोकेर छाड्ने निणर्य भएको हो ।

नदीजन्य पदार्थ ढुवानी तथा उत्खनन गर्ने सवारीमा ३ हजार देखि ५० हजारसम्म जरिबाना भराउने गरि गाडी (सवारी) छोड्ने निणर्य भएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए । नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली तीनवटै नदीको अनुगमन गरेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, वन र आन्तरिक राजस्वका प्रमुख सदस्य रहने प्रावधान छ । समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि नदीको अनुगमन गरिएको थियो ।

तीनवटै नदीबाट १० वटा टिपर, ३ वटा स्काभेटर, ३ वटा जेसीबी र ३ वटा ट्याक्टर प्रहरीले कब्जामा लिएको थियो । कब्जामा लिएका १९ वटै ढूवानीका साधन जरिबाना गरेर छोड्ने सहमति बुधबार भएको हो । तीनवटा स्काभेटरलाई १ लाख ५० हजार, ६ वटा जेसीबीलाई १ लाख ८० हजार, तीनवटा टिपरलाई ९० हजार र तीनवटा ट्याक्टरलाई ९ हजार पहिलोपटकका लागि जरिबाना गरेर छोड्ने निणर्य भएको छ।ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ४ अनुसार ‘नदीजन्य पदार्थको उत्खनन गर्दा सामान्यतया श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्ने उल्लेख छ ।

मेसिनको प्रयोग गर्नुपर्ने भए वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित सर्त र सीमाभित्र रही गर्नुपर्ने उल्लेख छ।वातावरण प्रभाव मूल्यांकनमा ती नदीका सात ठाउँबाट नदीजन्य पदार्थ संकलनको अनुमति दिइएको छ । दुई ठाउँबाट ढुंगा मात्र र अन्य स्थानबाट बालुवा, गिट्टी र भरान संकलन गर्न पाइने भनिएको छ ।

वडा नम्बर २ र ३ मा पर्ने नदीबाट ५१ घनमिटर र तेघरी र खमौराको बीचमा पर्ने गोदावरी नदीबाट २५ हजार ४ सय ४० घनमिटर ढुंगा निकाल्न पाइने उल्लेख छ । दुवै स्थानमा नदीजन्य पदार्थ उत्खनन गर्दा शून्य दशमलव ८ मिटर भन्दा गहिरो खाल्टो बनाउन नपाउने उल्लेख छ । अरू पाँच स्थानमा पनि शून्य दशमलव ९९ मिटरभन्दा गहिरो जान नपाउने उल्लेख छ । सबै मिलाएर गोदावरी नदीबाट मात्रै २ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न पाउने उल्लेख गरिएको छ ।

Loading...