


अत्तरिया- कैलालीको खुटिया नदीबाट दैनिक रुपमा नदीजन्य पदार्थको तस्करी हुने गरेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर ९ क्षेत्रमा पर्ने खुटिया नदीबाट दैनिक रुपमा नदीजन्य पदार्थको तस्करी भइरहेको छ । गोदावरी नगरपालिकाले खुटियाबाट नदीजन्य सामाग्री उत्खनन्का लागि ठेक्का सम्झौता नगरेको भए पनि तीनवटा डोजरको प्रयोग गरेर नदीजन्य पदार्थ तस्करी हुँदै आएको छ ।


गोदावरी नगरपालिका-९ मा रहेको लक्ष्मी महिला सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले दैनिक सयौँको संख्यामा ट्याक्टर र ट्रिपर नदीमा जाने गरेको गुनासो गरेकी छन् । उनले गोदावरी नगरपालिकाले ठेक्का सम्झौता नगरेको भए पनि नदीबाट अबैध उत्खनन् जारी रहेको बताइन् । उनले भनिन्, ‘सामुदायिक वन क्षेत्रको नदीमा अघिल्ला वर्षहरुमा तीन फिटको मात्र नदिजन्य पदार्थ उत्खनन् हुँदै आएकोमा अहिले सात फिटसम्म खाल्डा पारिएका छन् ।



नदीमा तीनवटा डोजर छन् । वडामा कर समेत बुझाएका छैनन् । आफुअनुकुल नदीबाट तस्करी हुँदै आएको छ । गाउँ कटानको खोजिम छ । सडक पूरै बिग्रीएको छ ।’ गोदावरी नगरपालिका क्षेत्रमा पर्ने खुटियाबाट धनगढी र अत्तरियासम्म नदीजन्य पदार्थको ढुवानी हुने गरेको छ । नगरपालिकाले खुटिया खोलाको ठेक्का नगरेको भए पनि तस्करी हुँदै आएको स्थानीयको गुनासो छ ।
सामुदायिक वन र स्थानीयले विरोध गर्दा पनि तस्करी नरोकिएको दाबी छ । यता, गोदावरी नगरपालिकाका संयोजक देवराज भट्टले मासिक जेसिबिको १५ हजार र स्काइभेटरको २० हजार रुपैयाँ कर लिएर नदीबाट नदीजन्य वस्तु उत्खनन् गर्न अनुमती दिएको बताए । उनले भने, ‘हाम्रो ठेक्का भएको छैन ।
ठेक्का नभएसम्मका लागि १५ हजार जेसिबी र २० हजार स्काईभेटरका लागि शुल्क निर्धारण गरिएको छ । उहाँहरुले कतिवटा गाडी प्रयोग गर्ने कुनै ठेगान छैन । हामीले डोजरको मात्र मासिक पैसा लिने हो ।’ नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन (इआए) गरेको क्षेत्रबाट मात्र नदीजन्य पदार्थ संकलन हुने गरेको उनको दाबी छ ।





