

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट एउटा सिट दिने समझदारी भइसकेको बताएका छन् ।


धनगढीमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गरेका चौधरीले सुदूरपश्चिमका तीन सिटमा एक सिट नागरिक उन्मुक्तिले पाउने सहमति भएको बताएका हुन् । उनले पुस २१ गते बस्ने सत्तारूढ गठबन्धनको बैठकले निणर्य गर्ने उनको दाबी छ ।



सुदूरपश्चिमबाट एक सिट पाउने सहमती भएको भन्दै २१ गतेको बैठकले पक्का गर्ने बताए । उनले भने, कुन दिन भन्नेमा सम्झौता भएको छैन ।
सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य बनेका तीन जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर) को पदावधि सकिन लागेको हो । नागरिक उन्मुक्ति पार्टीका १७ वटा मत रहेको छ ।
स्थानीय तहमा सात र १० वटा केन्द्रको भोट रहेको चौधरीले बताए । राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ । त्यसअघि नै सत्ता गठबन्धन बिच समझदारी कायम गर्न शीर्ष नेताहरुबिच छलफल हुँदै आएको छ ।