बीए पास गरी गँड्यौलासँग रमाइरहेका प्रकाश खाती

धनगढी, १८ असार– नर्सरीदेखि एसएलसीसम्म काठमाडौंमा पढेका प्रकाश खातीले अंग्रेजी मूल विषय लिएर स्नातक तहसम्मको पढाइ धनगढीमा पूरा गरे । त्यसपछि २०६१ सालदेखि २ वर्ष सरकारी मुखियाको जागिर पनि गरे । करारको जागिर तीन वर्ष पुग्दै गर्दा सरकारले केहीलाई स्थायी र केहीलाई बिदा गर्ने नीति लियो ।

उनी स्थायी हुनेमा पर्न सकेनन् । जागिर सकियो । उनी व्यापारतिर लागे । लामो समय धनगढीमा भाँडा बर्तनलगायतको व्यापार गरेका उनको पेशा फेरि फेरिएको छ । उनले व्यापार छाडेका छन् । उनी अहिले गँड्यौलाबाट जैविक मल बनाउने काममा लागेका छन् । तरकारी खेती गर्दा मल आवश्यक परिरहने अवस्थालाई मध्यनजर गर्दै मल उत्पादन थालेको खाती बताउँछन् । घरमै गाई भैँसीको मलबाट उत्पादन हुने तरकारी र बालीनाली स्वास्थ्यवर्द्धक हुने र महंगोमा बेच्न पनि सकिने थाहा पाएपछि उनले किसानलाई मल उपलब्ध गराउने निधो गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

व्यावसायिक जैविक मल उत्पादन गर्ने तय गरेपनि त्यसबेला यो कसरी सम्भव छ भन्ने उनलाई थाहा थिएन । तर जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो जैविक मल उत्पादनबारे खाती गुगल र युट्यूबमा खोजी गर्न थाले । र, भेटे गँड्यौलाबाट जैविक मल उत्पादन गर्ने तरिका । त्यसैबाट सकेजति जानकारी लिएर उनले काम शुरु गरे ।

अनुदानले बढायो आँट
एक वर्षअघि बनेको जैविक मल उत्पादन गर्ने उनको योजना अहिले व्यवसायिक रुपमा अगाडि बढेको छ । सुरुमा उनले ‘ट्रायल’का रुपमा काम गरि हेर्ने सोच बनाए । चितवनबाट ५५ सय रुपैयाँमा अढाइ किलो गँड्यौला मगाए । घर आँगनमै सानो दुईवटा खाडल बनाएर भैँसी र बाख्राको मल प्रयोग गरे । सकेजति जानकारी बटुल्दै र काम गर्दै‚ सिक्दै गए ।

Dadeldhura hospital

ट्रायलकै रुपमा काम गर्दै जाँदा यसमा सरकारले अनुदान पनि दिन्छ भन्ने जानकारी पाएपछि उनलाई थप आँट बढ्यो । नयाँ र बलियो संरचनामा आठवटा खाडल बनाए । दुई ट्राली गाईभैँसीको मल खरिद गरे, केही आफ्नै घरको मल थपे । उनले सरकारी अनुदानका लागि पहल गरे । कृषि विकास निर्देशनालय दिपायलले पनि उनलाई जैविका मल उत्पादनका लागि एक लाख ८३ हजार रुपैयाँ अनुदान दियो । ‘काम गर्दै जाँदा गड्यौला मल उत्पादन कार्यक्रमका लागि अनुदान पनि पाइन्छ भन्ने थाहा पाएपछि अनुदानका लागि पहल गरेँ,’ उनले भने, ‘सहजै पाएँ । अनुगमनमा आएका कर्मचारीले पनि अन्यको भन्दा तपाईंले राम्रो गर्नुभएको छ भनेर पनि भने, मलाई खुशी लाग्यो, झन् प्रोत्साहन भयो ।’

उनले श्रीमतीको नाममा ‘बडिमालिमा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी विकास फर्म’ दर्ता गरेर व्यवसायिक रुपमा जैविक मल उत्पादन सुरु गरेका छन् । सुदूरपश्चिममा गड्यौलाबाट जैविक मल उत्पादन कम हुन्छ । औंलामा गन्न सकिने केही किसानमात्रै यो क्षेत्रमा छन् ।

बजार पाउने आशा
सरकारबाट पाएको अनुदान र आफ्नो केही लगानीबाट गँड्यौला मल उत्पादन सुरु गरेका उनलाई अब बजारका खाँचो छ । मल उत्पादन सुरु भइसकेको छ । बजार खोज्न थालिसकेका छन् । केही किसान र कृषि सहकारीसँग मलका लागि कुरा अगाडि बढाएका छन् । बिस्तारै बजार बन्दै जानेमा ढुक्क छन् खाती ।

गँड्यौला मलको बारेमा सुदूरपश्चिममा किसानलाई खासै जानकारी नभएकाले सुरुमा अलि गाह्रो भएपनि बिस्तारै बजार पाउनेमा ढुक्क रहेको उनले मकालुखबरलाई बताए । ‘गँड्यौला मलको उपयोगिताबारे यहाँका किसानलाई खासै जानकारी छैन,’ उनले भने, ‘तर यो उपयोगी हो भन्ने थाहा हुँदै गएपछि बिस्तारै बजार पाउनेछ भन्नेमा ढुक्क छु ।’

उनका अनुसार यो मल तरकारी बालीमा बढी उपयोगी हुन्छ । कौसी खेतीका लागि त झनै उपयोगी । ‘बारी नभएका र शहरबजारमा कौसीमा तरकारी फलफूल फलाउन चाहनेहरुका लागि गड्यौला मल बढी प्रभावकारी हुन्छ,’ उनी भन्छन् । यद्यपि, धान, गहुँलगायत सबै बालीका लागि यो मल उपयोगी हुने उनी बताउँछन् ।

गड्यौलाबाट उत्पादन भएको मल प्रयोग गरेपछि रासायनिक मल प्रयोग गर्नु नपर्ने र जमिनको उर्बरा शक्ति पनि बढ्ने उनी बताउँछन् । ‘गँड्यौलाको मल प्रयोग गरे जमिनको उर्बरा शक्ति बढ्ने भएकाले अर्ग्यानिक मलको प्रयोग खेतिको लागि अपरिहार्य बनाउनुपर्छ,’ उनी भन्छन्, ‘उत्पादन पनि बढ्ने भएकाले अनिवार्य रुपमा गँड्यौलाको मल (जैविक मल) प्रयोग गर्नुको विकल्प पनि छैन ।’ कृषि विज्ञहरुका अनुसार गँड्यौलाबाट उत्पादन भएको अग्र्यानिक मलमा कम्पोष्ट मलभन्दा तीन गुणा उत्पादन क्षमता हुन्छ । (मकालुखबरबाट)

Loading...