महाकाली सिँचाइ : पानी छाड्न सफाइ गरिँदै मूल नहर

कञ्चनपुर- राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ । टनकपुर बाँधबाट पानी छोड्न मूल नहरको साढे बाह्र किलोमिटर लम्बाइमा सफाइको काम भइरहेको हो ।

“चालु आर्थिक वर्षमा मूल नहर सफाइको काम सुरु भएको हो”, निर्माण कम्पनी शुक्र कमली न्यू हुनैनाथ जेभीका प्रतिनिधि जतिन साउदले भने, “पानी सञ्चालनका लागि नहरमा रहेका झाडी हटाउने र नहरको सतह मिलाउने काम भइरहेको छ ।” उनका अनुसार अहिलेसम्म दुई किलोमिटर नहर सफाइको काम सकिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

दुई करोड ३५ लाखमा शुक्र कमली न्यू हुनैनाथ जेभीले मूल नहर सफाइको काम पाएको हो । टनकपुर बाँधदेखि साढे बाह्र किलोमिटरसम्म मूलनहर सफाइको काम चालु आर्थिक वर्षको चैतसम्म सकिने निर्माण कम्पनीले जनाएको छ । दुई पटक मूल नहरमा पानी परीक्षण गरिएपछि अब चाँडै पानी छोड्ने तयारी गरिएको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले जानकारी दिए ।

Dadeldhura hospital

“निर्माण भएको मूलनहरमा पानी छोड्नका लागि भारतसँग पहल भइरहेको छ, चाँडै मूल नहरमा पानी आउँछ,” उनले भने। महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट भम्का राधा खोलासम्म २३ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको छ । राधा खोलादेखि २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीसम्म मूल नहर निर्माण चालु आवमा सकिने आयोजना कार्यालयको दाबी छ ।

“फूलेलीदेखि ४८ किलोमिटर गोदावरी खोलासम्म मूल नहर निर्माणका लागि ठेक्का भइसकेको छ,” सूचना अधिकारी गुप्ताले भने, “ब्रह्मदेवदेखि फुलेलीसम्म बाइस वटा शाखा नहर निर्माण हुन्छन्, त्यसको काम पनि जारी छ ।” नेपाल–भारतबिच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माण सम्पन्न भइसकेको छ ।

महाकाली सन्धि भएको दश वर्षपछि आर्थिक वर्ष २०६३६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ । वि.सं.२०५२ माघ २९ मा नेपाल र भारतबिच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ ।

यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । बाइस वटा शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिने छ । रासस

Loading...