बाजुरामा बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

बाजुरा, १ असार- आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो ।

यस वर्ष पनि वर्षातको समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ । बडिमालिका नगरपालिका वडा नं. २ को भौनेरा, ८ को रापक र सोही नगरपालिका वडा नं. ६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी बूढीगङ्गा गाउँपालिका वडा नं. १ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ। त्यस्तै घागरमा गत वर्ष कटान भएको खेतीयोग्य जमीन यस वर्ष वर्षात शुरुआतसँगै पुनः नदीले कटान गर्न शुरु गरेको छ । आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूणर्रूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताए । त्यस्तै नदीका कारण बडिमालिका वडा नं. ६ पानीनाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीयवासी धन बढुवालले बताए ।

त्यसैगरी त्रिवेणी नगरपालिका वडा नं. ३ र बूढीगङ्गा वडा नं. ३ को खेतीयोग्य जमीन नदीले कटान गर्दै आएको बूढीगङ्गा नगरप्रमुख दीपकविक्रम शाहले बताए । नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, घागर, बार्जुगाडा, मौरलगायतका गाउँ तथा बजार उच्च जोखिममा रहेको शाहको भनाइ रहेको छ । तलबाट नदीले कटान गर्दै आएपछि बाम्काबजार जोखिममा रहेको र केही विस्थापित भइसकेको प्रमुखले बताए । त्यसैगरी बूढीगङ्गाले छिमेकी जिल्ला अछाममा पनि खेतीयोग्य जमीन कटान गर्दै आएको साँफेबगर नगरपालिका वडा नं. २ बस्ने कमल साउदले बताए । साँफेबगरको बुढाबगर, ठाँटी बजार, साँफेबगर र कालिमाटीमा खेतीयोग्य जमीन कटान गर्दै आएको छ ।

Dadeldhura hospital

जग्गा कटान गर्दै आएपछि बस्ती समेत जोखिममा परेको स्थानीयवासीहरु बताउँछन् । बूढीगङ्गाले अछाममा रहेको धार्मिकस्थल बैजनाथ क्षेत्रको केही भागसमेत कटान गरेको छ । मन्दिर पनि नदीको चपेटामा परेको छ । नदीको मारमा साँफे-मार्तडी सडकखण्ड पनि परेको छ । अछामको साँफेबगरबाट बाजुराको मार्तडीसम्म ५७ किलोमिटरमध्ये अधिकांश सडकखण्ड नदी किनारमै रहेका कारण नदीले कटान गर्दा महिनौँसम्म सडक अवरुद्ध हुने गरेको छ ।

साँफे-मार्तडी सडकखण्डको ताप्रिसेराबाट पानीनाउँला सम्म २० भन्दा बढी ठाउँमा पहिरो गएको छ । यता वर्षा शुरु भएसँगै जिल्लाको गौैमुल, बडिमालिका, बूढीगङ्गा र त्रिवेणीका तटीय क्षेत्रका बस्तीमा जोखिम व्यवस्थापनमा कसैको ध्यान गएको देखिँदैन । बूढीगङ्गा नदीको बढ्दै गएको बहावका कारण तटीय क्षेत्रमा कटान गर्दा दर्जनौँ बस्ती बगाएको छ तर तीनै तहका सकारबाट अहिलेसम्म नदी नियन्त्रणमा कुनै पहल नभएको बडिमालिका वडा नं. २ का करवीर नाथले बताए ।

अघिल्लो वर्षामा घागरमा बूढीगङ्गाले सयौँ बिघा खेतीयोग्य जमीन बगायो, दर्जनभन्दा बढी घर बगायो तर एक वर्ष भइसक्दासमेत कुनै तहको सरकारले व्यवस्थापनका लागि केही पहल नगरेको नाथ बताउँछन् । अघिल्लो वर्ष बाढी आएको केही दिनमै सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री प्रकाश शाह तथा पूर्व गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टरमा घागर पुगेर नदी नियन्त्रणका लागि घरविहीन भएकालाई घर बनाइदिने आश्वासन दिनुभएको तर त्यो नारामै सीमित भएको अर्का स्थानीयवासी प्रकाश महतले बताए ।

गत साउन २५ गते गएको बाढीले एक गाउँपालिका र तीन नगरपालिकाका गरी दर्जनभन्दा बढी बस्ती जोखिममा परेका भए पनि स्थानीयवासीले सरकारबाट कुनै सहुलियत नभएको गुनासो गरेका छन् । बडिमालिका नगरपालिका वडा नं. २ र ८ जोड्ने घागरको पुलमाथिबाट नदी बग्दासमेत सम्बन्धित सरोकारवाला मौनजस्तै बनेर बसेको बताए ।

घागरका ५० भन्दा बढी परिवारलाई बिरामी भएको बेला सदरमुकामसम्म आउने कुनै विकल्प छैन । थुवाकाँधको निर्माणाधीन झुलङ्गे पुलमा लठ्ठा तान्ने कामबाहेक अरु केही भएको छैन । घागरका जनतालाई सबै तहले सौतेनी व्यवहार देखाएको स्थानीयवासी अम्मराज पण्डितले गुनासो पोखेका छन् ।

Loading...