सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित




अत्तरिया, ३० जेठ– सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८\७९ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । यही जेठ २७ गते प्रशेदसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले पेश गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको हो ।



सभामा निर्णयार्थ पेश भएको वार्षिक नीति तथा कार्यक्रमको पक्षमा बहुमत देखिएपछि सभामुख अर्जन थापाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मौन समर्थन जनाएको थियो ।


नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।
सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको संयुक्त सरकार छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकाले आगामी असार १ गते मंगलबार दिउँसो ४ बजे प्रदेश सरकारको आगामी आर्थिक वर्षको २०७\७९ को राजस्व र व्ययको वार्षिक अनुमान सभासमक्ष प्रस्तुत गर्ने सभामुखले घोषणा गरे ।



