
कञ्चनपुर- महाकाली सिँचाइ आयोजना तेस्रो चरणको डेढ वर्षअघि नै उद्घाटन गर्ने योजना बनाइएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उद्घाटनको कार्यतालिका बनेको थियो । कोरोना महामारीका कारण देउवाको भारत भ्रमण स्थगित भयो । दुवै देशका प्रधानमन्त्रीले भर्चुअल रुपमा उद्घाटन गर्ने योजना पनि रोकियो ।




गत वर्ष असारमा महाकाली सिँचाइ आयोजना अन्तर्गत हाल तयार भएको मूल नहरको पहिलो खण्डमा टनकपुर ब्यारेजबाट परीक्षणका लागि नहरमा पानी छाडियो । आयोजनाले सोही पानीबाट केही किसानले असार १५ मा रोपाइँ पनि गरे । त्यसयता भने नहरमा पानी बन्द छ । भारतीय पक्षले नहरको औपचारिक उद्घाटनपछि मात्रै पानी छाड्ने अडान लिएको छ ।




पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पनि औपचारिक उद्घाटनको तयारी गरिएको थियो । तर भारतीय अधिकारीको गलत रिपोर्टिङका कारण उद्घाटन हुन सकेन ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि आयोजना र भारतको एनएचपीसी९नेसनल हाइड्रोपावर कर्पोरेसन० का अधिकारीले संयुक्त रुपमा नहरको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा सबै तयारी पूरा भएको जानकारी गराइएको थियो । तर एनएचपीसीका अधिकारीले नेपालतर्फ नहर निर्माणको काम पूरा नभएकाले तत्काल उद्घाटन गर्न नसकिने रिपोर्टिङ गरेपछि उद्घाटन हुन नसकेको आयोजनाका इन्जिनियरले बताएका छन् ।
संयुक्त अनुगमनका क्रममा आयोजनाको नहरमा टनकपुर ब्यारेजबाट २ किलोमिटरको दुरीमा बालुवा थिग्र्याउने ९डिसेल्टिंङ बेसिन० प्रणाली निर्माणको काम भइरहेको थियो । उद्घाटनका तयारीका लागि रातारात काम पनि भयो । नहरको पानी निकासका लागि कामिकाँटे खोलामा पानी छाड्न ढोका पनि जडान भयो ।

‘हामीले उद्घाटनको तयारीका लागि रातारात काम गर्यौं, एनएचपीसीका अधिकारीले तयारी नभएको रिपोर्टिङ गरे,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शभ्मुराज पण्डितले भने, ‘भारतीय पक्षकै कारण यस पटक पनि उद्घाटन रोकियो ।’ उनका अनुसार एनएचपीसीका अधिकारीले सुरुमा उद्घाटनको तयारी गर्ने आश्वासन दिएका थिए । तर पछि गलत रिपोर्टिङ गरियो ।
आयोजनाले उद्घाटनका लागि यसअघि नै विभागमा पत्राचार गरिसकेको छ । भारतीय पक्षले उच्चस्तरबाटै उद्घाटन गरेर मात्रै पानी छाड्ने अडान लिएको छ । ‘हामीले असार पहिलो साता उद्घाटनको तयारी गरिरहेका छौं, धान दिवस नहरकै पानीबाट रोपाइा गरेर मनाउछौं,’ सीडीई पण्डितले भने, ‘फेरि उद्घाटनका लागि पहल भइरहेको छ ।
अयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम सुरु भइसकेको छ । २२ वटा शाखा नहर निर्माण भएपनि ५१ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । शाखा नहर निर्माणसँगै केही पुराना सिँचाइ प्रणालीबाट खेतमा पानी पुर्याउन सकिन्छ । यही भएर आयोजनाले पानी सञ्चालनका लागि पटक पटक आग्रह गर्दै आएको छ ।
अहिले २८ देखि ४८ किलोमिटरसम्म मूल नहर निर्माणको काम चलिरहेको छ । चालु आर्थिक वर्षभित्रै उक्त काम पनि सक्ने योजना रहेको आयोजनाका निर्देशक रणबहादुर बमले बताए । आगामी आर्थिक वर्षमा आयोजनाका लागि १ अर्ब १७ करोड बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरवको आयोजना भएपनि अपेक्षाकृत बजेट विनियोजन हुन सकेको छैन ।
आर्थिक वर्ष ०६२र०६३ मा निर्माण सुरु गरिएको आयोजना अन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । कैलालीको मालाखेती हुँदै कञ्चनपुरको पुनर्वासम्म पुग्ने सिँचाइ आयोजना सम्पन्न भएपछि ३३ हजार ५२० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । यसैगरि महाकाली पारिको दोधाराचाँदनी क्षेत्रमा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । जसका लागि टनकपुर ब्यारेजबाट बर्खामा १ हजार क्युसेक र सुख्खायाममा साढे ३ सय क्युसेक पानी प्राप्त हुनेछ ।
तर दोधाराचाँदनीतर्फ भने हालसम्म नहर निर्माणको काम सुरु भएको छैन । दोधाराचाँदनीका लागि भारतले शारदा नहरबाट पानी उपलब्ध गराउने महाकाली सन्धिमा उल्लेख छ । कान्तिपुरबाट