

रुकुमपूर्व- जिल्लामा एक महिनामा २१ वटा बेवारिसे भरुवा बन्दुक फेला परेका छन् । फागुन महिनामा फरक–फरक स्थान र समयमा बेवारिसे २१ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । फागुन महिनाको पहिलो हप्ता सिस्ने गाउँपालिका–२ बाट दुई व्यक्तिसहित दुई भरुवा बन्दुक फेला परिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार दुई व्यक्तिमाथि अदालतमा मुद्दा चलिरहेको छ । त्यसलगत्तै पछिल्ला समयमा बेवारिसे अवस्थाका जङ्गलमा भरुवा बन्दुक फेला परिरहेको श्रेष्ठले बताए ।


‘आइतबार मात्र सिस्ने–२ तैलटाको ओडारमा १० नाल बेवारिसे भरुवा बन्दुक फेला परिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘फागुन २६ गते भूमे गाउँपालिका–३ को जङ्गलमा तीन, फागुन ८ गते सोही वडामै छ नाल र फागुन २० गते सिस्ने गाउँपालिका–५ को जङ्गलमा दुई नाल गरी हालसम्म २१ बेवारिसे बन्दुक र दुई व्यक्तिसँग गरी २३ नाल भरुवा बन्दुक फेला परिएको छ ।’
बेवारिसे बन्दुक कसले र किन राख्यो भनेर पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । काम विशेषले प्रहरी आवतजावत गर्दा र स्थानीयले देखेर खबर गरेपछि उक्त बन्दुक फेला पारिएको प्रहरीले जनाएको छ ।