कैलालीमा डुबानका घर सरसफाइ गरिँदै

टीकापुर,१५ कार्तिक– कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा पर्‍याे। यसपछि उनको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो।

हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उनको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ। “घर सफा गर्दै थियौँ, घरभित्र बालुवा र फोहर भरिएको छ। दुई दिनदेखि सरसफाइ गरिरहेका छौँ”, उनले भनिन्, “घर सफा गर्ने क्रममा दुुईवटा सर्प निस्किए, निकै जोगिएर सरसफाइ गरिरहेका छौँ।”

godawari10 Mahila hinsa
Navadurga sun

भजनीका छहरा धामीको घर पनि बाढीले भत्कायो। बाढीले घरका भित्ता भत्काउनुका साथै घरमा भएको सबै सामान भिजाएपछि छहराको परिवार पनि विस्थापित भयो। उनीहरु पनि विद्यालयमा गएर बसे। तिहार नजिकिएपछि छहराका श्रीमान् कमाउन भारततिर लागे भने छहरा र उनका बालबच्चा घर फर्किएका छन्।

Dadeldhura hospital

घर फर्किएर सरसफाइमा खटेकी छहराको घरमा पनि सर्पले बास गरेको रहेछ। “घर त फोहर किटपतङ्गले भरिएको छ। बस्न सकिएलाजस्तो लाग्दैन तर कति दिन अर्काको घरमा बस्नु भनी सरसफाइ गर्न थालेकी छु”, उनले भनिन्, “छिमेकीको सहयोगमा भत्किएका भित्ता लगाइयो, अब लिपपोत गर्न र घरभित्र भरिएको फोहर सफा गर्दैछु।”

बाढीपछि लक्ष्मी, छहराको मात्रै होइन प्रभावित क्षेत्रमा रहेका घर तथा वरपर सर्प, बिच्छी र अन्य किटपतङ्ग घरमा पसेका हुन्छन्। कैलालीमै सर्प तथा अजिङ्गर पाइने वनका नामले चिनिने सत्ती कर्णाली सामुदायिक वनमा समेत बाढी पसेको छ। बाढीले वनमा रहेका अजिङ्गर तथा सर्प बगाएर बस्तीमा पुर्‍याएको हुनसक्ने स्थानीय रमेश टमट्टा बताउँछन्।

“बाढीले हरेक वर्ष अजिगङ्र बस्तीमा पुर्‍याउँछ। बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी र पखाला लाग्नेजस्ता समस्या देखिन थालेका छन्”, उनले भने, “स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले स्वास्थ्य शिविर गर्ने, नियमित उपचारमा सघाउने, बाढीपीडितको निःशुल्क उपचार गरिदिने गर्नुपर्छ।”

यस्तो बेला सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। “बाढीको समयमा जताततै फोहर भएको छ। झारपात बगेर आएर बस्तीमा पसेको छ। फोहरका कारण महामारी फैलनसमेत सक्छ”, टीकापुर अस्पतालका डा लालसिंह टमट्टा भन्छन्, “यस्तो बेलामा उमालेको पानी पिउने, सुत्दा खाटमा सुत्ने, अनिवार्य झुल लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ। बाढीले आर्थिकरूपमा समेत रित्तिएकाहरुलाई महामारी फैलिएमा थप समस्या हुनसक्छ।” (रासस)

Loading...