सुदूरपश्चिम सरकारको नेतृत्वका लागि नेकपा एसले थाल्यो छलफल

अत्तरिया, १४ कार्तिक– सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एसले पहल थालेको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको भन्दै सरकारको नेतृत्वका लागि नेकपा एसले पहल अघि बढाएको छ । १० गते धनगढीमा सम्पन्न पार्टीको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

Dadeldhura hospital

प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबै भन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् । त्यसपछि माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।

Navadurga sun
Godawari sandesh

अहिले माओवादीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीसहितको सरकार रहेको छ । यसअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले २–२ प्रदेशको नेतृत्व गर्ने सहमति भएको थियो । अहिले माओवादीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेशको नेतृत्व गरिरहेको छ । सबैभन्दा ठूलो दल रहेको हुँदा नेतृत्व गर्ने विषयमा छलफल हुनु सामान्य रहेको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले बताए । ‘सबैभन्दा ठूलो दलको हैसियतले हाम्रो दावी स्वाभाविक रूपमा रहन्छ’ उनले भने, ‘अनौपचारिक रूपले यसमा छलफल पनि भइरहेको छ ।’ उनले प्रदेश कमिटी बैठकले सरकारको नेतृत्व लिने गरी छलफल गर्ने निर्णय नै भइसकेको बताए । उनले तत्कालै बदल्ने सम्भावना नरहे पनि केही समय पछि सरकार परिवर्तन हुने बताए ।

Loading...