अत्तरिया- कैलालीको अत्तरिया क्षेत्रमा खाना पकाउने एलपी ग्यासको आंशिक अभाव देखिन थालेपछि उपभोक्ता चिन्तित बनेका छन्। ग्यासको आपूर्ति घट्नु र अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर मौज्दात राख्न थालेपछि बजारमा माग र आपूर्तिबीच असन्तुलन देखिएको व्यवसायीहरूले बताएका छन्।
अत्तरिया क्षेत्रका ग्यास व्यवसायीका अनुसार पछिल्लो समय विगतको तुलनामा ग्यासको आपूर्ति घटेको छ। पर्याप्त परिमाणमा ग्यास नआए पनि आपूर्ति पूर्ण रूपमा बन्द भने नभएको उनीहरूको भनाइ छ।

महाराजा सप्लायर्सका सञ्चालक शेरबहादुर धामीका अनुसार पहिले अत्तरियामा चार गाडी ग्यास आउने गरेकामा अहिले दुई गाडी मात्र आउने गरेको छ। आपूर्ति घटेकै कारण मागअनुसार ग्यास वितरण गर्न कठिन भएको उनले बताए।
“पहिलेको जस्तो पर्याप्त ग्यास आएको छैन। त्यसैले अभाव नै भयो भन्न मिल्दैन, हामीले बिक्री–वितरण गरिरहेका छौँ,” धामीले भने, “तर अहिले आएको ग्यास पनि करिब आधा घण्टामै सकिने अवस्था छ।”
उनका अनुसार अभाव हुने आशंकामा उपभोक्ताहरूले एकैपटक दुईदेखि तीनवटासम्म सिलिन्डर खरिद गरेर घरमा मौज्दात राख्न थालेका छन्। यसले गर्दा सीमित परिमाणमा आएको ग्यास सबै उपभोक्तालाई समान रूपमा वितरण गर्न कठिन भइरहेको छ।
एसडी ट्रेड एण्ड सप्लायर्सकी सञ्चालक तथा भेरी ग्यासकी आधिकारिक बिक्रेता पार्वती भट्टले कम्पनीबाट ग्यासको आपूर्ति भइरहेको भए पनि उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर खरिद गर्न थालेपछि माग धान्न समस्या भएको बताइन्।
उनका अनुसार यसअघि दैनिक २५ देखि ३० सिलिन्डरसम्म बिक्री हुने गरेकोमा अहिले एकैपटक १५० भन्दा बढी सिलिन्डर आए पनि केही घण्टामै बिक्री हुने गरेको छ।
यस्तै, निङलासैनी ट्रेडर्सका सञ्चालक तथा भेरी ग्यासका डिलर कल्याण सिंह बोहराले फ्याक्ट्रीबाट मागअनुसार ग्यास प्राप्त गर्न कठिन भइरहेको बताए। उनका अनुसार यसअघि मासिक करिब एक हजार सिलिन्डर बिक्री हुने गरे पनि अहिले मागअनुसार ग्यास ल्याउन समस्या भइरहेको छ।
व्यवसायीहरूले उपभोक्तामा अभाव हुने त्रासका कारण बढी सिलिन्डर मौज्दात राख्ने प्रवृत्तिले बजारमा थप चाप सिर्जना गरेको बताएका छन्। उनीहरूले तत्काल आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर मौज्दात नराख्न उपभोक्तालाई आग्रह गरेका छन्।
हाल अत्तरियामा ग्यासको आपूर्ति पूर्ण रूपमा बन्द नभए पनि आपूर्ति घटेको र माग बढेका कारण सहज रूपमा ग्यास पाउन कठिन भइरहेको छ। व्यवसायीहरूले आपूर्ति नियमित र पर्याप्त बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
