अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्देवी फायरिङ रेञ्जमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन्।
आज बिहान करिब ८:१० बजे देवदल गण, आर्मी ब्यारेकको सैन्य तालिम अन्तर्गत फायरिङ अभ्यास भइरहेका बेला ग्रिनेड विस्फोट भएको हो।

विस्फोटमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्कीको दाहिने हात र अनुहारमा तथा २० वर्षीय सैनिक रञ्जित थारुको दाहिने हातमा चोट लागेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा महराले जानकारी दिएका छन्।
घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि नेपाली सेनाको आर्मी अस्पताल, बोराडाँडी लगिएको छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।
