गौरीगंगामा एमाले पार्टी कार्यालय प्रशासनको नियन्त्रणमा





अत्तरिया, १० कार्तिक- कैलालीकाे गौरीगंगा नगरपालिका वडा नं. १ चौमालामा रहेको एमाले पार्टी कार्यालय स्थानीय प्रशासनले आफ्नो नियन्त्रणमा लिएको छ ।
एमाले र त्यस दलबाट छुट्टिएको नेकपा एकीकृत (समाजवादी) का कार्यकर्ताका बीचमा भवन प्रयोगका विषयमा विवाद हुँदा झडपको अवस्था सृजना भएकाले शान्तिसुरक्षा कायम राख्नका लागि भवन नियन्त्रणमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पार्टी कार्यालय भवनको सुरक्षाका लागि प्रहरी खटाइएको छ । विगतदेखि नेकपा एमालेको पार्टी कार्यालय सञ्चालन हुँदै आएको उक्त भवन आफूहरूले प्रयोग गर्न पाउनुपर्ने माग गर्दै एकीकृत समाजवादीका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो ।
एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूले एमालेमा हुँदा आफ्नै अगुवाइमा भवन निर्माण गरिएको भन्दै प्रयोग गर्न पाउनुपर्ने माग अघि सारेका छन् । तर एमालेले पार्टीको सम्पत्ति अर्को पार्टीमा गएकाहरूलाई दिन नसकिने बताएको छ । प्रशासनले दुवै दलको सहमति नभएसम्मका लागि कसैलाई नदिने जनाएको छ । ‘दुबै पक्षको सहमति नभएसम्मका लागि दुबै पक्षलाई भवन प्रयोग गर्न नदिने निर्णय गरिएको छ,’ प्रशासनले टाँस गरेको सूचनामा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । तीन दिनअघि उक्त भवन प्रयोगका विषयमा दुबै दलका स्थानीय कार्यकर्ताका बीचमा विवाद हुँदा सामान्य झडप भएको थियो ।



