अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा उत्साहजनक ९४ प्रतिशत मतदान भएको छ। कुल १,०२४ मतदातामध्ये ९६४ जनाले मताधिकार प्रयोग गरेको निर्वाचन समितिले जनाएको छ।


बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचनमा अपेक्षाभन्दा उच्च मतदान भएको समितिको भनाइ छ। यसले संघप्रति व्यवसायीहरूको जिम्मेवारीबोध, नेतृत्व चयनप्रतिको चासो र सक्रिय सहभागिता स्पष्ट देखाएको छ।

यसपटक अध्यक्ष पदका लागि कमल कडायत, रमेश भट्टराई र नैनसिंह कार्की आफ्ना–आफ्ना पूर्ण प्यानलसहित चुनावी मैदानमा छन्। साथै, भिस्मा खड्काले वरिष्ठ उपाध्यक्षसहितको प्यानल दर्ता गर्दै निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएकी छन्।
निर्वाचन समितिका अनुसार मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र छिट्टै मतगणना सुरु गरिनेछ। अब व्यवसायी समुदायको ध्यान अन्तिम नतिजातर्फ केन्द्रित भएको छ। विजयी नेतृत्वले संघको संस्थागत विकास, व्यवसायीका हकहितको संरक्षण, बजार व्यवस्थापन तथा निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
