लक्ष्मी भट्ट/अत्तरिया- आफ्नै जग्गा नहुँदा पनि भाडाको जग्गामा कृषि व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् पूर्वप्रहरी गगनबहादुर बोहरा । गोदावरी नगरपालिका–१ विजयनगर निवासी बोहराले एबिएस पोल्ट्री एण्ड बङ्गुर–माछा फर्म स्थापना गरी २०७५ सालदेखि कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन् ।



प्रहरी सेवामै रहँदा कुखुरा पालनबाट कृषि यात्रा सुरु गरेका बोहराले अहिले बङ्गुर पालनलाई मुख्य व्यवसायका रूपमा अघि बढाएका छन् । हाल उनको मासिक आम्दानी करिब एक लाखदेखि डेढ लाख रुपैयाँ हुने गरेको छ ।


बोहराका अनुसार कृषि क्षेत्रमा सुरुवाती संघर्ष निकै कठिन हुन्छ । तर धैर्य र निरन्तर मेहनत गरेपछि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । “विदेशमा परिवारसँग टाढिएर दुःख गर्नु भन्दा आफ्नै देशमा कृषि व्यवसाय गरेर सम्मानजनक आम्दानी गर्न सकिन्छ,” उनले भने ।
उनका अनुसार फर्म सञ्चालनका क्रममा गोदावरी नगरपालिकाबाट एकपटक १ लाख रुपैयाँ अनुदान प्राप्त भए पनि त्यसपछि कुनै सरकारी सहयोग नपाएको बताए ।

सुरुमा लोकल कुखुरा पालन गरे पनि ठूलो घाटा बेहोर्नुपरेको उनको अनुभव छ । उनले कुखुरा पालनबाट करिब १ करोड रुपैयाँसम्म घाटा व्यहोरेको बताए । त्यसपछि बङ्गुर पालनतर्फ ध्यान केन्द्रित गरेका उनी अहिले भने यसैबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
व्यवसायका क्रममा उनले धेरै चुनौती पनि सामना गरे । एकपटक स्वाइन फ्लुका कारण करिब २०० वटा बङ्गुर मरे, जसले ठूलो आर्थिक क्षति पुर्यायो। अर्को पटक बजारमा बङ्गुरको मासुको मूल्य प्रतिकिलो १६० रुपैयाँ हुँदा पनि उत्पादन लागत धेरै भएकाले घाटा बेहोर्नुपरेको उनले सुनाए ।
“कृषि व्यवसायमा घाटा आउँदैमा बीचमै छोड्नु हुँदैन । संघर्ष गर्दै अघि बढेपछि अन्ततः सफलता प्राप्त हुन्छ भन्ने मेरो अनुभव हो,” उनले भने ।
हाल उनको फर्ममा बङ्गुर पालन र माछापालन सञ्चालनमा छन् । फर्मबाट बङ्गुरका बच्चा, बङ्गुरको मासु बिक्री गर्नुका साथै बङ्गुर पालनसम्बन्धी प्राविधिक परामर्शसमेत प्रदान गरिन्छ ।
बोहराले आफ्नो सम्पूर्ण व्यवसाय भाडाको जग्गामा सञ्चालन गरिरहेका छन् । गोदावरी नगरपालिका–४ बास्कोटामा रहेको फर्मले अहिले राम्रो प्रगति गरिरहेको उनले बताए ।
“आफ्नो जग्गा छैन भनेर कृषि व्यवसाय गर्न डराउनु पर्दैन । भाडाको जग्गामा पनि मेहनतका साथ काम गरे राम्रो आम्दानी गर्न सकिन्छ,” भन्दै उनले अन्य किसानलाई पनि कृषि क्षेत्रमा लाग्न प्रेरित गरेका छन् ।




