जनताको सेवामा निरन्तर खटिने वडा अध्यक्ष केशवबहादुर साउद : पाँच वर्षमा विकासका आधार तयार गरेको दाबी

अत्तरिया- कैलालीकाे चुरे गाउँपालिका–२ का वडा अध्यक्ष केशवबहादुर साउद आफ्नो सरल स्वभाव, जनताप्रतिको उत्तरदायित्व र विकासप्रतिको प्रतिबद्धताका कारण स्थानीयमाझ परिचित नाम हुन्। बर्खा होस् वा चर्को गर्मी, जनताको कामलाई पहिलो प्राथमिकतामा राख्दै निरन्तर खटिने जनप्रतिनिधिका रूपमा उनी चिनिन्छन्।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh

लामो खैरालादेखि घरखेडासम्मको कठिन सडक यात्रा पार गर्दै पालिकाको कार्यालय पुगेर जनताका कामको नियमित अनुगमन गर्ने, आवश्यक समन्वय गर्ने तथा स्थानीयसँग सुझाव र सल्लाह आदानप्रदान गर्ने कार्यमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्। जनताका समस्या समाधान गर्न उनी कहिल्यै पछि नहट्ने स्थानीयको भनाइ छ।

वडा अध्यक्ष साउदले आफ्नो पाँचवर्षे कार्यकालमा चुनावी घोषणापत्रमा उल्लेख गरेका अधिकांश प्रतिबद्धता कार्यान्वयन गर्ने प्रयास गरेको बताउँछन्। “मैले निर्वाचनका बेला जनतासामु गरेका वाचा पूरा गर्न इमानदारीपूर्वक प्रयास गरेको छु। धेरै काम सम्पन्न भएका छन् भने केही काम अन्तिम चरणमा छन्,” उनले भने।

उनका अनुसार वडा–२ मा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ र केही महिनाभित्र विद्युत् सेवा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सडक सञ्जाल विस्तारअन्तर्गत गर्भादेखि खैराला हुँदै गाउँपालिकाको कार्यालयसम्म सडक पहुँच विस्तार गर्न सफल भएको उनले बताए। “यो मेरो पहिलो सपना थियो, जुन अहिले पूरा हुने चरणमा पुगेको छ,” उनले भने।

वडा कार्यालय पहिले भाडाको भवनबाट सञ्चालन हुँदै आएको अवस्थामा अहिले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह भइरहेको छ। स्वास्थ्य सेवा सुदृढीकरणका लागि सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ, बिरामीहरूका लागि एम्बुलेन्स सुविधा व्यवस्थापन गरिएको छ, जहाँबाट स्थानीयले नियमित स्वास्थ्य सेवा पाइरहेका छन्।

Dadeldhura hospital

युवालाई लक्षित गर्दै प्रत्येक वर्ष ‘वडा अध्यक्ष कप’ सञ्चालन गरी खेलकुद गतिविधिलाई प्रोत्साहन गरिएको उनले जानकारी दिए। त्यसैगरी महिलालाई लक्षित गरेर विभिन्न सीपमूलक तथा घरेलु उद्योगसम्बन्धी तालिम सञ्चालन गरी आयआर्जनमा जोडिएको उनको भनाइ छ।

कृषि क्षेत्रको विकासका लागि सुन्तला तथा अन्य फलफूल खेती गर्ने किसानलाई लक्षित गरी विभिन्न स्थानमा सिँचाइ पोखरी निर्माण गरिएको छ। पानीको स्रोत भएका क्षेत्रमा व्यवस्थित कुलो निर्माण गरी किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइएको उनले बताए।

“मानवका आवश्यकतासँगै विकासका माग पनि बढ्दै जान्छन्। सबै आवश्यकता एकैपटक पूरा गर्न सम्भव हुँदैन। तर आफूले सक्दो प्रयास गर्दै विभिन्न निकायबाट बजेट ल्याएर विकास निर्माणका काम अघि बढाइरहेको छु,” उनले भने।

उनका अनुसार वडा क्षेत्रमा पर्ने खैराला खोलामा मोटरेबल पुल र झोलुङ्गे पुल निर्माणको आवश्यकता अझै रहेको छ। त्यसका लागि गाउँपालिका, प्रदेश सरकार, संघीय सरकार तथा यस क्षेत्रका जनप्रतिनिधिसँग निरन्तर समन्वय र पहल भइरहेको उनले जानकारी दिए।

पाँचवर्षे कार्यकाललाई समीक्षा गर्दै वडा अध्यक्ष साउदले जनतासामु गरेका प्रतिबद्धतामध्ये अधिकांश पूरा गर्न सफल भएको महसुस आफूलाई भएको बताए। “मेरो कामको मूल्यांकन अन्ततः जनताले नै गर्ने हो। मैले सकेसम्म इमानदारीका साथ जनताको सेवामा काम गरेको छु,” उनले भने।

सरल, शालीन स्वभावका साउद कहिल्यै कसैसँग ठूलो स्वरमा नबोल्ने जनप्रतिनिधिका रूपमा परिचित छन्। स्पष्ट रूपमा आफ्ना धारणा प्रस्तुत गर्ने शैलीका कारण उनी सक्षम युवा नेताका रूपमा स्थापित हुँदै गएको स्थानीयको बुझाइ छ। चुरे क्षेत्रको भावी नेतृत्वका रूपमा पनि उनलाई धेरैले आशाका साथ हेर्ने गरेका छन्।

Couple
Loading...