विकासे बालीको प्रभाव: थारू समुदायका रैथाने धानबाली लोप हुने अवस्थामा

कैलाली- केही दशकअघिसम्म थारू समुदायले खेती गर्दै आएका विभिन्न रैथाने धानबाली अहिले लगभग पूर्ण रूपमा लोप भएका छन्। उन्नत जातका विकासे धानप्रति किसानको आकर्षण बढेसँगै सौँठ्यारी, चानाफोर, अञ्जना, गोर्रा, आइरेट, गोग्वा, गोपाल, जया, करङ्गी, सुगापङ्खी, निमोई, रुट्नी, कृष्णभोग, डिरुवा, रैमुनुवा, बर्का मसुली, ढुनमुनियालगायतका धानका बिउसमेत हराउँदै गएका छन्। हाल थारू आलु र सेतो अन्डी धानको मात्र सीमित खेती भइरहेको छ।

Ganyapdhura gau

धनगढी उपमहानगरपालिका–७ पटेलाका ज्येष्ठ कृषकहरूका अनुसार पहिले बलौटे तथा सुक्खा जमिनमा रोपाइँ नगरी हलोले जोतेर सिधै बिउ छर्ने परम्परा थियो। केही रैथाने धान पानीले डुब्ने क्षेत्रमा समेत सहजै हुर्कने विशेषता भएका थिए भने कृष्णभोग र निमोई धानको भात स्वादिष्ट मानिन्थ्यो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

स्थानीय कृषकहरूका अनुसार अञ्जना धान हावाले सजिलै ढल्ने भएकाले खेती गर्न छाडिएको हो। अन्डीबाहेक अधिकांश रैथाने धान अहिले गाउँघरबाट हराइसकेका छन् र तिनका बिउसमेत पाउन कठिन भएको छ। थारू समुदायको अट्वारी र माघी पर्वमा अन्डी धानको विशेष धार्मिक तथा सांस्कृतिक महत्व भएकाले यसको खेती भने अझै केही मात्रामा भइरहेको छ।

कृषकहरूले बढी उत्पादन हुने उन्नत जातका धान रोज्न थालेपछि रैथाने धानबाली क्रमशः विस्थापित भएको ज्येष्ठ नागरिकहरूको भनाइ छ। बदलिँदो मौसम, समयमै वर्षा नहुनु र उत्पादनमुखी खेती प्रणाली पनि यसको प्रमुख कारण मानिएको छ।

रैथाने अन्डी धान र थारू आलुको संरक्षणका लागि कृषि ज्ञान केन्द्र कैलालीले प्रत्येक वर्ष किसानलाई विभिन्न प्रकारका सहयोग तथा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Couple
Loading...