धनगढी- सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस धनगढीमा विशेष कार्यक्रमका साथ मनाइएको छ । धनगढीस्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह को प्रमुख आतिथ्यता रहेको थियो ।



कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, प्राध्यापक हेमराज पन्तलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।



सात वर्षअघि स्थापना भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व आएपछि पहिलो पटक स्थापना दिवस औपचारिक रूपमा मनाएको हो । कार्यक्रममा प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवर्द्धन र अनुसन्धानमा प्रतिष्ठानले खेलेको भूमिका तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रज्ञा प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताउँदै भाषा, साहित्य, लोकसंस्कृति, कला तथा ऐतिहासिक सम्पदाको खोज, अध्ययन र संरक्षणमा प्रतिष्ठानले अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरे । उनले प्रदेशको समृद्ध सांस्कृतिक विरासतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन अनुसन्धान र प्रकाशनका गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रदेश सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए ।
कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले प्रतिष्ठानले छोटो अवधिमै विभिन्न सिर्जनात्मक तथा अनुसन्धानमूलक कार्यहरू अघि बढाएको जानकारी दिँदै भाषा, साहित्य, कला र संस्कृतिको अभिलेखीकरण तथा प्रवर्द्धनका लागि आगामी दिनमा थप योजनाबद्ध रूपमा काम गरिने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई भावी पुस्तासम्म पुर्याउन प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । स्थापना दिवसका अवसरमा प्रतिष्ठानको सात वर्षे यात्राको समीक्षा, आगामी कार्यदिशा तथा अनुसन्धानका सम्भावनाबारे समेत छलफल गरिएको थियो ।




