कञ्चनपुर- कञ्चनपुरमा वडाध्यक्षमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेकी पत्रकार ऐश्वर्य कुँवर ले आफ्नो व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएकी छन्। उनले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित विषय सञ्चार माध्यममा प्रकाशन–प्रसारण नगर्न आग्रह गर्दै त्यस्ता गतिविधिविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन्।



दलित पत्रकार संघ सुदूरपश्चिमका अध्यक्ष हिमेश बिक ले कुँवरले अन्तर्जातीय विवाह गरेकै कारण पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको बताएका थिए। तर कुँवरले आफूले अन्तर्जातीय विवाह नगरेको दाबी गर्दै आफ्नो व्यक्तिगत जीवनबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गरेकी छन्।



घटनाबारे पत्रकार महासंघ र प्रेस काउन्सिलले वास्तविकता नबुझी कदम चालेको आरोप लगाउँदै कुँवरले सरकारको नीति विपरीत होटलमा भइरहेको कार्यक्रमको रिपोर्टिङ गर्न पुगेको बताएकी छन्। सो क्रममा रविन्द्र देवकोटा ले आफूमाथि दुर्व्यवहार गरेको र ठेकेदारसँग फिरौती मागेको आरोप लगाएको उनको भनाइ छ। वडाध्यक्ष आक्रोशित भएर आफूतर्फ आएपछि आफूले प्रतिकार मात्र गरेको उनले दाबी गरेकी छन्।
कुँवरले हिरासतमा रहेका बेला स्पष्टीकरण दिने अवसर नदिई पत्रकार महासंघले निलम्बन गरेको र प्रेस काउन्सिलले पनि व्यवहारिक पक्ष नहेरी स्पष्टीकरण मागेको गुनासो गरेकी छन्। साथै, आफूमाथि लगाइएको फिरौती मागेको आरोप प्रमाणित गर्न चुनौती दिएकी छन्।
भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष देवकोटामाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेकी कुँवरमाथि अभद्र व्यवहार शीर्षकमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि पत्रकार महासंघ कञ्चनपुरले उनलाई निलम्बन गरेको छ भने प्रेस काउन्सिलले पनि स्पष्टीकरण सोधेको छ।




