धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले प्रदेश सभाको मध्यराति बसेको बैठकमा बजेट प्रस्तुत गरेका हुन्।



मन्त्री धामीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताए। बजेटमा प्रदेशका कर्मचारीको तलब–भत्ता १० प्रतिशतले वृद्धि गर्ने घोषणा पनि गरिएको छ।



सत्तारुढ दलहरूबीच बजेटको सिलिङ र मन्त्रालयगत बाँडफाँटमा देखिएको विवादका कारण बजेट मध्यरातमा प्रस्तुत भएको हो। मन्त्री धामीले बजेट प्रस्तुत गरे पनि मन्त्रालयगत बजेट विवरण भने सार्वजनिक गरेनन्।
बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ, संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ तथा वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसैगरी, चालु आर्थिक वर्षको विनियोजनबाट ९ अर्ब ६५ करोड रुपैयाँ बचत हुने, ससर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।

