

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम मेयर कप खुला महिला फुटबल प्रतियोगिताको उपाधि घोडाघोडीले जितेको छ । शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक सैपाल युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घोडाघोडी च्याम्पियन बनेको हो ।


सैपाल युवा क्लबको आयोजनामा जेठ २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कैलालीका १२ टोलीको सहभागिता रहेको थियो । विजेता घोडाघोडीले नगद रु. १ लाख ११ हजार १११, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सैपाल युवा क्लबले नगद रु. ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।




समापन समारोहमा बिरेन्द्र भट्ट ले महिला खेलाडीलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै खेलकुदले प्रतिभा विकास, राष्ट्रिय पहिचान तथा आर्थिक अवसर सिर्जना गर्ने धारणा व्यक्त गरे। उनले महिला खेलकुदलाई अझ व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिए । त्यसैगरी, नगर प्रमुख भट्टले आफ्नो चार वर्षे कार्यकालमा नगरपालिकाको स्वामित्वमा उपयुक्त जग्गाको अभावका कारण हालसम्म रंगशाला निर्माण गर्न नसकेको अनुभूति व्यक्त गरे ।
सैपाल युवा क्लबका अध्यक्ष रमेश बोगटी ले सीमित आर्थिक स्रोतका कारण खेलकुद प्रतियोगिता सञ्चालन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
“महिला खेलाडीको सम्मान, स्वस्थ समाज निर्माणको अभियान” भन्ने नारासहित आयोजित प्रतियोगितामा गोदावरी नगरपालिकाको मुख्य सहयोग रहेको थियो भने विभिन्न संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग गरेका थिए।