

धनगढी- कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको घटनाको खुलासा भएको छ। धनगढी उपमहानगरपालिका–९ त्रिवेणी घाटस्थित मोहना नदी किनारमा जेठ २४ गते फेला परेको बेवारिसे शव कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार रानाको रहेको प्रहरीले जनाएको छ।



प्रहरी अनुसन्धानका क्रममा राजकुमारको मृत्यु स्वाभाविक नभई कुटपिटपछि हत्या गरिएको खुलेको हो। घटनामा धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय बम्मन राना, ५८ वर्षीया भँगु रानासहित चार जनाको संलग्नता रहेको प्रहरीको भनाइ छ। हत्या पश्चात् प्रमाण लुकाउने उद्देश्यले शव मोहना नदी किनारमा फालिएको अनुसन्धानबाट खुलेको छ।


घटनामा संलग्न रहेको आरोपमा बम्मन राना र भँगु रानालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य दुई फरार व्यक्तिको खोजी कार्य जारी रहेको छ।