

काठमाडौं- निजामती कर्मचारीहरुले आफूभन्दा माथिल्लो तहका अधिकारी वा सुपरभाइजरलाई पनि अंक दिन पाउने गरी सरकारले नयाँ निजामती विधेयकमा प्रस्ताव गरेको छ ।


अहिलेसम्मको अभ्यासमा हाकिमले मातहतका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनमा अंक दिन पाउथे । अब भने माथिल्लो जिम्मेवारीमा रहेका कर्मचारी वा हाकिमको व्यवहार र कार्यशैलीका बारेमा मातहतका कर्मचारीहरुले पनि अंक दिन पाउने व्यवस्था थपिएको हो ।



रायका लागि कानून मन्त्रालयमा पुगेको विधेयकको मस्यौदामा माथिल्लो तहका अधिकारी वा सुपरभाईजरका वारेमा तल्लो तहका कर्मचारीहरुले पनि मूल्यांकन गरेर अंक दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
विधेयकमा भएको व्यवस्था अनुसार, सुपरभाइजरहरुले मातहतका कर्मचारीहरुको कार्यदक्षता, क्षमता र अनुशासन मूल्यांकन गरेर १५ अंक दिन पाउने व्यवस्था छ । तर, मातहतका कर्मचारीहरुले आफ्नो हाकिमको ५ अंक मात्रै मूल्यांकन गर्न पाउने भएका छन् । मातहतका कर्मचारीहरुले दिएको अंकको औसत निकालेर ५ अंकभारमा प्राप्तांक निकालिन्छ र कार्यसम्पादन मूल्यांकनमा जोडिन्छ .
अंक मापन गर्ने तरिका तल्लो तहका कर्मचारीहरुले दिएको पृष्ठपोषण र प्रतिक्रियामा आधारित हुनेछ । समन्वय, मातहतका कर्मचारीहरुलाई गर्ने व्यवहार, विनम्रता, समाधानमुखी स्वभाव आदि विषयवस्तुलाई मूल्यांकन गरेर तल्लो तहका कर्मचारीहरुले हाकिमको अंक दिन पाउने व्यवस्था प्रस्तावित भएको हो ।