

अत्तरिया/लक्ष्मी भट्ट- कैलालीको गेटा आँखा अस्पतालमा देखिएका बेथिति र व्यवस्थापनसम्बन्धी समस्याहरूको विरोधमा “बेथिति विरुद्ध संघर्ष समिति” ले आज आइतबार दबाबमूलक विरोध प्रदर्शन गरेको छ । संघर्ष समितिका अध्यक्ष गणेश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता र समर्थन रहेको बताइएको छ ।


प्रदर्शनकारीहरूले अस्पतालभित्र राजनीतिक हस्तक्षेप रोक्नुपर्ने, कर्मचारीमाथिको दमन अन्त्य गर्नुपर्ने, सेवा सुविधा तथा बढुवा प्रणाली सुनिश्चित गर्नुपर्ने लगायतका १२ बुँदे मागहरू अघि सारेका छन् । उनीहरूले अस्पतालको व्यवस्थापन सुधार नभएसम्म आन्दोलन निरन्तर रहने चेतावनी दिएका छन् ।



संघर्ष समितिले उठाएका प्रमुख मागहरूमा दीर्घबहादुर चन्द, गोविन्द जोशी, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीलाई बर्खास्त गर्नुपर्ने, व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने, चिकित्सकहरूको तत्काल पदपूर्ति गर्नुपर्ने र हालका व्यवस्थापन समितिका सदस्यहरूको राजीनामा गरिनुपर्ने विषय समावेश छन् ।
त्यस्तै, अस्पतालभित्र हुने भनिएको गैरकानुनी ठेक्का प्रणाली अन्त्य गर्नुपर्ने, नयाँ कर्मचारी (नपुग) तत्काल नियुक्त गर्नुपर्ने, शुद्ध खानेपानी र शौचालयको व्यवस्था सुधार गर्नुपर्ने, बिरामीहरूप्रति हुने रुखो व्यवहार रोक्नुपर्ने तथा अस्पतालको आय–व्यय सार्वजनिक गर्नुपर्ने माग पनि राखिएको छ ।
आन्दोलनकारीहरूले भोलि सोमबार हातमा कालोपट्टी बाँधेर गेटमै विरोध प्रदर्शन गर्ने र माग पूरा नभए पर्सिबाट आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् । कार्यक्रमको सञ्चालन संघर्ष समितिका सहसचिव गिरिराज भण्डारीले गरेका थिए ।

वक्ताहरूले अस्पतालभित्र देखिएका अनियमितता र व्यवस्थापकीय कमजोरीहरू अन्त्य नगरे कडा संघर्ष गर्न बाध्य हुने बताएका छन्। उनीहरूले यी १२ बुँदे मागहरूले अस्पतालमा विद्यमान समस्याहरूलाई उजागर गरेको दाबी पनि गरेका छन्।


