

अत्तरिया- महाकाली राजमार्ग अन्तर्गत कैलालीको अत्तरियादेखि सहजपुरसम्मको ४२ किलोमिटर सडक मर्मत तथा स्तरोन्नति कार्यको ठेक्का रद्द गरिएको छ। २०७८ वैशाख २२ गते सम्झौता भएको उक्त आयोजना तोकिएको समयमै सम्पन्न हुन नसकी पाँच वर्षसम्म अलपत्र परेपछि सम्बन्धित निकायले काठमाडौँस्थित नागार्जुन कन्स्ट्रक्सन प्रालिसँगको सम्झौता अन्त्य गरेको हो।



सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय तथा सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले करिब ३० प्रतिशत मात्रै काम सम्पन्न गरेको थियो।


पटक–पटक ताकेता र स्पष्टीकरण माग्दा पनि कुनै सन्तोषजनक प्रतिक्रिया नआएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताका प्रावधानअनुसार २०८३ जेठ १८ गते ठेक्का रद्द गर्ने निर्णय गरिएको जनाएको छ।
कार्यालयले अब सम्पन्न कामको मूल्याङ्कन गरी क्षतिपूर्ति वा बाँकी रकम सरकारी बाँकी सरह असुलउपर गरिने जनाएको छ। साथै निर्माण व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वित्तीय फरफारकका लागि कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ।